संविधान दिवसमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि (फोटो फिचर)
भैरहवा– संविधान दिवस–२०८१ को अवसरमा भैरहवामा झण्डोत्तलन र प्रभातफेरि कार्यक्रम गरिएको छ । सिद्धार्थनगर–१ बेलहियामा झण्डोत्तलन गरी त्यहाँबाट भैरहवास्थित देवकोटाचोकसम्म प्रभातफेरि कार्यक्रम गरिएको छ ।
जिल्लास्तरीय कार्यक्रम आयोजक समिति, रुपन्देहीको आयोजनामा बिहीबार बाजागाजा र राष्ट्रिय झण्डासहित निकालिएको प्रभातफेरि कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, उद्योगी–व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सर्वसाधारण लगायत सहभागी थिए । मुलुकमा जननिर्वाचित प्रतिनिधिले संविधान जारी गरेको अवसरमा हरेक वर्ष असोज ३ गते दिवस मनाइन्छ ।
नवौं संविधान दिवसको अवसरमा प्रभातफेरि पछि आयोजित कार्यक्रमा जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चपाईले संविधान कार्यान्वयन अहिलेको आवश्यकता भएको जनाए । उनले संविधान संशोधन हुन सक्ने तर फेरि नयाँ संविधान जारी सम्भव नभएको बताए । संविधानमा भएका त्रुटीहरु आवश्यकता र औचित्यका आधारमा सच्याउँदै लैजानु पर्नेमा उनले जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख एवं संविधान सभा सदस्य इश्तियाक अहमद खाँले संविधान मुलुक र हरेक नागरिकको आत्मा भएको बताए । आत्मा चलाएर राम्रो नहुने भन्दै उनले संविधान अक्षरण कार्यान्वयनमा जोड दिए । हरेक नागरिकले संविधानको मर्मलाई ग्रहण गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संविधानले सबैको भावना समेटेको जनाए । सबै मिलेर संविधानको सफल कार्यान्वयन र संविधानप्रदत अधिकार जनतालाई अनुभूति हुने गरी प्रदान गरिनुपर्नेमा जोड दिए । उनले संविधान दिवसले मुलुकमा शान्ति, विकास र भाइचार अभिबृद्धि गर्नेमा विश्वास व्यक्त गरे । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले संविधानले दिएको अधिकार समेत महिलाहरुलाई दिन नखोजिएको भन्दै अधिकार प्राप्तीका लागि आफै अघि सर्नुपर्नेमा जोड दिइन् ।
दिवसका अवसरमा बेलहियादेखि देवकोटाचोकसम्म पैदलयात्रासहित करिब ३ किमी प्रभातफेरि निकालिएको थियो । सहभागीले संविधानले दिएका अधिकार जनतालाई उपलब्ध गराउनु पर्ने र सफल कार्यान्वयनमा जोड दिएका थिए ।
झाँकी र प्रभातफेरिको उत्सव
संविधान दिवसलाई भब्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राहमण लगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृति सहितको झाँकी प्रदर्शन गरेका हुन् । संविधान दिवसलाई उत्सवमय बनाउन प्रदेश राजधानी देउखुरीमा विविधतायुक्त झाँकीहरु प्रदर्शन गरिएको थियो । राप्ती नेवारी समाजले परम्परागत रोपाइँ जात्रा, थारु समुदायको झाँकी, राप्ती स्काउट समूहले स्काउट झाँकी, राप्तीको नौमती बाजा सहितको झाँकी प्रस्तुत गरिएको हो ।
प्रतिकृया दिनुहोस्