June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

जगर्श ग्रुप भैरहवाको अध्यक्षमा न्यौपाने

Advertisement

भैरहवा– जगर्श ग्रुप भैरहवा, रुपन्देहीको अध्यक्षमा प्रियबन्धु न्यौपाने सर्वसम्मत चयन भएका छन् । संस्थाको अधिवेशनले न्यौपानेको अध्यक्षतामा २०८१–०८२ का लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको शनिबार पदस्थापन समेत भएको छ ।

Advertisement

जगर्शको उपाध्यक्षमा थिरेन्द्रप्रसाद श्रेष्ठ, सचिवमा अनिल केसी र कोषाध्यक्षमा महेश भट्ट छन् । सदस्यहरुमा रमेश घिमिरे, दिनेश पोखरेल, विष्णु शर्मा, राजु न्यौपाने र रोशन न्यौपाने चयन भएको संस्थाका संरक्षक एवं निर्वाचन आयुक्त हरिषचन्द्र श्रेष्ठले बताए । पदस्थापन समारोहमा अध्यक्ष न्यौपानेले शिवहरि शर्मा, कृष्ण शर्मा र कृष्णप्रसाद पाण्डेलाई बोर्ड सदस्यमा मनोनित गरेका छन् ।

पदस्थापन समारोहमा बोल्दै युवा उद्योगी सुरज उप्रेतीले जगर्शले समाजमा सकारात्मक सन्देश प्रबाह गरेको जनाए । उनले बिहानी हिंडाइले स्वास्थ्यलाई राम्रो बनाउने भन्दै सबै मानिस आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्नेमा जोड दिए । ‘वाक फर हेल्थ’ जरुरी रहेको बताए । जगर्श मर्निङवाक हिंड्ने समूहको संस्था हो ।

अध्यक्ष प्रियबन्धु न्यौपानेले जगर्शलाई एउटा प्रणालीमा लैजाने उद्देश्यसाथ आफू अध्यक्ष भएको बताए । ‘मैले मेरो जिम्मेवारीलाई गम्भीर रुपमा लिएको छु, सबैको साथ, सहयोग र सहकार्यले एक वर्षसम्म विभिन्न रचनात्मक काम गर्ने छु’, उनले भने । उनले संस्थापकहरुले अघि सारेका योजना र सोंचलाई सार्थकता दिन लागि पर्ने जनाए ।

न्यौपानेले सबैको सक्रियताले नै जगर्श आजको दिनसम्म आएको जनाउँदै समाजमा थप सकारात्मक प्रभाव छाड्न जरुरी रहेको बताए । ‘आज जगर्शको सदस्य हुन धेरैजना लालायित छन्’, उनले भने, ‘यसको एउटै कारण हो, हामीले समाजमा राम्रो छाप छाडेका छौं । त्यसैले हाम्रो प्रभावलाई मेरो कार्यकालमा अझै फराकिलो बनाएर लैजाने छौं ।’

सिद्धार्थनगर नगरपालिका–८ का वडाध्यक्ष राजनजंग राणाले हिजोका दिनमा सानो समूहमा रहेको जगर्श आज निकै ठूलो भइसकेको बताए । यसमा संस्थापकहरुको योगदान महत्वपूर्ण रहेको उनले जनाए । जगर्श आज नगरमा परिचित र महत्वपूर्ण संस्थाका रुपमा गनिएको जनाउँदै नयाँ कार्यसमितिले थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।

सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जगर्श नारालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । ‘केही साथीहरु नियमित हिंडाई छाड्नुभएको छ, यसलाई निरन्तर गर्नुपर्छ, यसले व्यक्तिगत स्वास्थ्यलाई निकै राम्रो गर्छ’, उनले भने । श्रेष्ठले संघ र व्यक्तिगत तर्फबाट जगर्शसँग सधैं सहकार्य गर्ने र आवश्यक सहयोग समेत गरिरहने बताए ।

जगर्शका पूर्वअध्यक्ष प्रकाश घिमिरेले पछिल्लो समय युवापुस्ताहरु हिंड्न नखोज्ने, बरु मोबाइल चलाएर बस्ने गरेको बताए । यसले स्वास्थ्यलाई ठीक नगर्ने जनाए । युवाहरु स्वस्थ, विवेकी, स्फूर्त, आत्मविश्वासी, अनुशासित हुनुपर्ने उनले बताए । कार्यक्रममा उद्योगी सीताराम शर्मा र संस्थाका सदस्य कमलप्रसाद मरासिनीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष अनिल उपाध्याय, पूर्वअध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।