February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

एमालेमा शंकर गुट हावीः लुम्बिनीको मुख्यमन्त्री बन्दै चेतनारायण

भैरहवा– लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्य हुने भएका छन् । एमालेमा राजनीतिक ‘उथलपुथल’ हुँदा संसदीय दलका नेता लिला गिरीलाई ‘हुत्याएर’ संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

Advertisement

बिहानसम्म काँग्रेस–एमालेले एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री र दिउँसो प्रदेश प्रमुख समक्ष दावी पेस गर्ने तयारी थियो । तर, एमालेमा एकाएक गुटगत राजनीतिले दलका नेतालाई पाखा लगाएर उपनेतालाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

एमाले लुम्बिनी प्रदेशसभा सचेतक तुलसीप्रसाद चौधरीले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएको जनाए । ‘एमालेले आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसक्यो, सोही अनुसार हामी मुख्यमन्त्रीमा दावी पेश गर्न जानेछौं’, उनले भने । उनले दिउँसो १–२ बजेतिर मुख्यमन्त्रीमा दावी पेस गर्न जान लागिएको बताए ।

एमालेमा पार्टी उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच गुटगतको हानथाप छ । यी दुई नेताबीचको गुटगत लडाइँले एमालेले लुम्बिनीमा मुख्यमन्त्री नै परिवर्तन गर्ने निर्णयमा पुगेको हो । मुख्यमन्त्री बन्न लागेका आचार्य महासचिव पोखरेल निकट मानिन्छन् । गिरी उपाध्यक्ष पौडेल निकट हुन् ।

गिरी पूर्वमुख्यमन्त्री हुन् । रुपन्देहीबाट प्रत्यक्ष निर्वाचित गिरी मुख्यमन्त्री हुनेमा धेरै ढुक्क थिए । तर, एकाएक एमाले भित्रको गुटगत लडाइँले आचार्य मुख्यमन्त्री हुन लागेका हुन् । आचार्य यसअघि तीनपटक मन्त्री बनिसकेका छन ।

अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए भने माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।