देवदह मेडिकल कलेजमा पुनः स्वास्थ्य बिमा कार्यक्रम सुरु


देवदह– देवदह मेडिकल कलेजमा स्वास्थ्य बिमा पुनः सुरु भएको छ । साउन १ गते बाट विमा सुरु भएको हो । विभिन्न कारण देखाउँदै अस्पताल प्रशासनले बीचमा स्थगित गरेको थियो । रुपन्देहीको देवदह नगरपालिका–९, भलुहिमा रहेको यो मेडिकल कलेज यहाँका बासिन्दाको पहिलो रोजाइमा छ ।
कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले पहिला २ बर्ष सम्म चलेको बीमा कार्यक्रम पुनः सुरुगरिएको जानकारी दिए । ‘विभिन्न समस्या र कारणले केही समय विचमा स्थगित गरेका थियौं । अहिले निरन्तरता दिन पाउँदा खुशी लागेको छ’, उनले भने, ‘अबका दिनमा स्थगित नगर्ने गरी सरकारसँग सम्झौता गरेर काम भइरहेको छ ।’
अस्पतालले स्वास्थ्य बीमा गरेका व्यक्तिले नजिकै रहेको सरकारी स्वास्थ्य संस्थामा गएर त्यहाँबाट रेफरको टिकट लिएर मेडिकल कलेज आउनुपर्ने व्यवस्था गरेको जनाएको छ। ‘निजी क्षेत्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा लागू गरिएको भए पनि सरकारीबाट रेफरको रुपमा आउनुपर्ने प्रावधान नेपाल सरकारले बनाएको छ’, उनले भने, ‘त्यसैले यहाँ पनि सोही अनुसार हुनेछ ।’
हलेजले ओपीडी टिकट निःशुल्क गर्दै आएको छ । गर्भवती महिलाको लागि मात्रै ५ सयमा भिडियो एक्सरे गर्दै आएको अध्यक्ष पोखरेलले बताए । ‘होलवडी चेकअप मात्र २ हजारमा गर्दै आएका छौं’, उनले भने । गत आर्थिक बर्षमा समाजिक उत्तरदायित्व अन्तर्गत १३० स्थानमा निःशुल्क स्वास्थ्य शिविर गरिएको जनाइएको छ । यसबाट ३० हजार ७ सय ६० जनाको निःशुल्क स्वास्थ्य जाँच गराएका छन् ।
निःशुल्क रुपमा औषधिसहित उपचार समेत गरिएको अस्पतालले बताएको छ । आगामी दिनमा थप १ सय ५० स्थानमा स्वास्थ्य शिविर आयोजना गरिने र ३५ हजार भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गरिने लक्ष्य राखिएको छ । स्वाथ्य बीमाबाट १ लाख रुपैयाँसम्मको उपचार हुने भएकाले सबै नागरिकलाई बिमा गर्न अस्पतालले अनुरोध गरेको छ । वि.सं. २०६२ सालमा स्थापना भएको कलेजमा अहिले एमबीबीएससहितका विषय अध्यापन हुँदै आएको छ ।








प्रतिकृया दिनुहोस्