February 8, 2025, Saturday
२०८१ माघ २७

नेदरल्यान्ड्स सेमिफाइनलमा, फाइनलका लागि इंग्ल्यान्डसँग भिड्ने

नेदरल्यान्ड्सले युरोकप फुटबलमा टर्कीसँग एक गोलले पछि परेको अवस्था उल्टाउँदै २-१ को जित निकालेको छ। सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गर्ने क्रममा डच टोली अन्तिम समयमा भाग्यमानी रह्यो।

Advertisement

बर्लिनमा भएको चौंथो तथा अन्तिम क्वाटरफाइनल खेलमा टर्कीले ३५औं मिनेटमै अग्रता लिएको थियो। आर्डा गुलेरको क्रसमा समेत अकायदिनले आकर्षक हेड गर्दै टोलीलाई अग्रता दिलाए।

पहिलो हाफमा १-० ले अघि रहेको टर्कीले दोस्रो हाफको अन्तिम २० मिनेट समालिन नसक्दा लगातार दुई गोल खान पुग्यो। ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसलाई हेडमार्फत स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए।

६ मिनेट पछिनै डच टोलीले अग्रता बनायो। डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गर्दा नेदरल्यान्ड्स पुनरागमन जित निकाल्न सफल भयो।

योसँगै युरोकपको सेमिफाइनल समीकरण पूरा भएको छ। अब नेदरल्याण्ड्सले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्दा अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने छन्।