June 20, 2026, Saturday
२०८३ असार ६ शनिबार

सहकारीमा जनताको पैसा हिनामिना हुँदा सरकार मूकदर्शक बन्योः कोइराला

Advertisement

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्‌मा प्रतिपक्षको कुरा बन्देज गरेको बताएका छन् । सोमबार नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाइ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रतिपक्षको कुरा सुन्दै नसुनी सत्तापक्ष अगाडि बढेकोमा आक्रोश पोखे । उनले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाका बारेमा सिकाउन जरूरी नभएको बताए ।

Advertisement

“संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ । तर, यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनिकन अगाडि बढ्न खोजेको छ,” उनले भने ।

कार्यक्रममा बोल्दै नेता कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको जनताको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताए । उनले कांग्रेसले सहकारीपीडित र जनताको समस्यालाई संसद् र सडकबाट उठाएको बताए ।

नेता कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा छानबिन समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे । उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे ।