June 5, 2026, Friday
२०८३ जेष्ठ २२ शुक्रबार

लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन र शिक्षाको ठूलो केन्द्र बनाऔंः प्रधानमन्त्री

Advertisement

लुम्बिनी– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको स्पष्ट पारे । बिहीबार लुम्बिनीमा आयोजित २५६८औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

Advertisement

‘यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन र शिक्षाको केन्द्र बनाउन सरकारले ठोस योजना अगाडि बढाएको छ’, उनले भने, ‘त्यसैले बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्ध दर्शनको प्रवद्र्धनतर्फ केन्द्रित गर्न निर्देशन दिन्छु ।’ वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रुपमा विकास गर्न क्रियाशील रहेको उनले जनाए ।

प्रधानमन्त्रीले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताए । ‘वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकसित गर्न क्रियाशील छ’, उनले भने ।

नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरुलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

‘बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रुपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।’ उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए ।

‘पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्वपूर्ण छ,’ प्रधानमन्त्रीले भने, ‘मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ । बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ ।’

मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रुपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्वपूर्ण अंग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे ।

‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा संघसंस्थाहरुको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयवासीलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ’, उनले भने । बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत् उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।

नेपाल सरकारले सन् २००४ मा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिट्टै आयोजना गरिने जनाए । उनले सबैतहबाट लुम्बिनीको विकासमा सरकार लागि परेको बताए ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनीको बृहत्तर विकासमा सरकार कटिबद्ध रहेको जनाए । उनले लुम्बिनी बौद्ध दर्शको उद्गम थलो, शान्ति र अहिंसाको प्रतीक भएको जनाउँदै एकपटक लुम्बिनी भ्रमण गर्न विश्व समुदायलाई आग्रह गरे । ‘यहाँ आएर शान्ति र करुणाको सन्देश छर्न र विश्वमाझ शान्ति फैलाउन म सबैमा आग्रह गर्छु’, उनले भने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एसियाका ज्योतिका रुपमा परिचित विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्रदेश हुनु सबैका लागि गौरम भएको बताए । उनले लुम्बिनीको विकासले प्रदेशसँगै समग्र मुुलुकको विकासमा योगदान दिने जनाए । पर्यटनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामा, बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डे, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, श्रीलंकाका राजदुत सुदर्शना पाथिराना लगायतले लुम्बिनी बौद्धमार्गी मात्रै नभई सबै धर्म र समुदायको आस्थाको केन्द्र रहेको बताए ।