May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

लुम्बिनीका मन्त्री अहिर अशोक राईतिर, मन्त्रीबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण

Advertisement

दाङ– जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशेको कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका भण्डारीलाल अहिरले पुनः मन्त्रीको पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै बैशाख ९ गते अहिरले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Advertisement

उनले मन्त्री पदबाट राजीनामा दिएको १५ दिनमा पदभार ग्रहण गरेका हुन् । चैत २३ गते विनाविभागीय मन्त्री बनेका उनलाई वैशाख ६ गते मुख्यमन्त्री महराले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री भएको तीन दिनमा ९ गते पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए ।

महराको नेतृत्वमा सरकार गठन गर्दा चैत २२ गते जसपालाई दुई मन्त्रालय दिने ७ बुँदे लिखित सहमति भएको थियो । वैशाख ६ गते सात सदस्यीय मन्त्रीमण्डल विस्तार गर्दा जसपाबाट थप एक जना मन्त्री नथपिएपछि सहमति मुख्यमन्त्रीले पालना नगरेको भन्दै अहिरले पदबाट राजीनामा दिएका थिए ।

केन्द्रमा आइतबार पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको पार्टीमा लागेर उनले सोही मन्त्रालयमा सोमबार पदभार ग्रहण गरेका हुन् । ‘म अशोक राई नेतृत्वमा रहेको पार्टीबाट मन्त्री बनेर पदभार ग्रहण गरेको छु,’ मन्त्री अहिरले भने, ‘एउटै जिल्ला बाँकेबाट ३ जना सांसद छौं, हामी सबै एकैठाउँमा छौं । राई नेतृत्वको पार्टीमा लागेका छौं ।’

बाँके निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित अहिरले पदभार ग्रहणपछि मन्त्रायलाई बन्धक बनाइ राख्न नहुने भएकाले शपथ ग्रहण गरेर काममा लागेको बताए । अहिरले मन्त्री पदबाट राजीनामा दिए पनि मुख्यमन्त्री महराले स्वीकृत गरेका थिएनन् ।

अहिरले पदभार ग्रहण गरेपछि १२ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मुख्यमन्त्री महराले आफैं राखेका छन् ।