May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

सकारात्मक सोंच र उर्जाका लागि बन्दीहरूसँग शुभकामना आदानप्रदान

भैरहवा- राष्ट्रिय पर्वको बेलामा जेल भित्रका बन्दीहरुमा एक्लोपनको महशुस हुन नदिन र सकारात्मक चिन्तनका लागि प्रेरित गर्दै रुपन्देहीका बन्दीहरुसंग शनिवार नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान गरिएको छ ।

Advertisement

जेल जीवन पछिको भविष्य सुनौलो रहेकाले जेल भित्रको बसाइँलाई सकारात्मक उर्जाकासाथ बस्नु पर्ने सन्देश दिँदै शनिवार भैरहवास्थित जिल्ला कारागार रुपन्देहीका बन्दीहरुसंग शुभकामना आदान प्रदान गरिएको हो । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको आयोजना र कर्मचारी मिलन केन्द्र रुपन्देहीको संयोजनमा उक्त कारागारमा रहेका ४ सय ७२ जना बन्दीलाई भोजनसहित शुभकामना आदान प्रदान गरिएको छ ।

Advertisement

बन्दीहरुलाई शुभकामना दिने क्रममा अधिकांश बक्ताले जेल भित्रको बसाइँलाई प्रत्येक बन्दीले निराशा र नकारात्मक सोंचाइको सट्टामा समाज सुधार र श्रृजनशिल सोंचमा रुपान्तरण गर्न आग्रह गरे । रुपन्देही का प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रत्येक बन्दीले जेल जीवन पछिको जीवनलाई समाज रुपान्तरणको कार्यमा लगाउने गरि सकारात्मक सोंच र चिन्तनमा रहन आग्रह गरे । स्व.नेलशन मण्डेलाको ३० बर्षे जेल बसाइँलाई प्रेरणाको रुपमा लिँदै त्यही अनुरुप आफूलाई सकारात्मक सोंचमा राख्नु पर्ने भनाइ उनको थियो ।

`परिस्थिति, परिवन्द र नियतीले अहिले चार दिवालभित्र जेल जीवन बिताउनु परेका तपाइँहरुको जेल पछिको जीवन समाज सुधारका लागि अझ बढी जिम्मेवार रहने छ’, अर्यालले भने, त्यसैले सवैले जेल भित्रको बसाइँलाई सिर्जनशिल र सकारात्मक उर्जावान बनाउनुस् ।’ राष्ट्रिय पर्वहरु तथा दिवशका वेलामा बन्दीहरुले आपसमा खुशी साटासाट गर्ने अवसर जुटाइदिनका लागि प्रशासन जहिले पनि तयार रहेको जनाउँदै उनले कारागार पछिको जीवन समाजसँग खेल्नका लागि आकाश खुल्ला रहेको बताए ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिँह राठौरले सुरक्षाका दृष्टिले कुनै पनि बन्दीलाई समस्या परेमा समाधान गर्नका लागि तयार रहेको बताए । कर्मचारी मिलन केन्द्र रुपन्देहीका अध्यक्ष तथा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले राष्ट्रिय पर्वको अनुभूति बन्दीहरुले पनि गर्न पाउनु पर्छ र राष्ट्रिय पर्वहरुमा उनीहरुमा नरमाइलो हनुभूति हुन नपाओस् भन्ने उद्देश्यले भोजनसहितको शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए ।

‘बन्दीहरुलाई हेर्ने नकारात्मक दृष्टिमा परिवर्तन गरि उनीहरु पनि समाजका अन्य व्यक्ति सरह समान छन् भन्ने भावना जागृत गराउन यस खालको कार्यक्रम बेलाबेलामा आयोजना गर्ने गरिएको छ’, उनले भने, `कारागार भित्र यस खालको कार्यक्रम गर्ने परिपाटी रुपन्देहीबाट सुरुवात गरिएको छ ।’

राष्ट्रिय पर्वको वेलामा बन्दीहरुलाई एक्लोपन हुन नदिनका लागि वेला वेलामा बन्दीहरुसंग संयुक्त रुपमा पर्व मनाउने यस खालको कार्यक्रम नेपालका अन्य कारागारमध्ये भैरहवा कारागारमा हुने गरेको दावी कार्यक्रम आयोजकको छ । गएको दिपावली पर्वमा पनि भैरहवा कारागारका बन्दीसंग भोजनसहितको देउसी भैलो कार्यक्रमको आयोजना गरिएको थियो ।

शुभकामना आदान प्रदान गर्दै इजाज अली नामका बन्दीले यस खालको कार्यक्रमबाट बन्दीहरुलाई हिनताबोध हटेर मनोबैज्ञानिक ढंगले आत्मबल आउने गरेको बताए । भैरहवा कारागारका बन्दीहरुमा सकारात्मक चिन्तका लागि दैनिक मंगलधुन, योगा र जीवन बिज्ञानको प्रशिक्षण दिने गरिएको भैरहवा कारागारका प्रमुख जगतबहादुर बस्नेतले बताए ।