May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

फागुन ४ र ५ मा एघारौँ दीप गायन तारा

बुटवल– रुपन्देहीबुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र ५ गते रुपन्देही क्षेत्रभित्रका माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरू सहभागी हुन पाउने गरी प्रतियोगिता आयोजना गरेको जनाएको छ ।

Advertisement

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले प्रतियोगितामा सहभागिताका लागि १६६ वटा विद्यालयमा पत्राचार गरिएको र सामाजिक सञ्जाल तथा पत्रपत्रिका, रेडियो एवम् अनलाइन पत्रिकामार्फत् रुपन्देहीका विद्यालयहरूलाई सूचना सम्प्रेषित गरिएको बताए । उनले प्रतियोगितामा ५५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा रहेको जनाए ।

Advertisement

त्यसैगरी दीप गायन तारा प्रतियोगिताको एघारौँ संस्करणका संयोजक बालकृष्ण पाठकले दीप गायन तारा प्रतियोगिताका गतिविधिलाई छापा, मिडिया तथा अनलाइन पत्रिकामार्फत् समाचार प्रकाशन तथा प्रसारण गरिदिनु हुन अनुरोध गरे । प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई–दुई हजारका साथ सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस प्रतियोगितामा हालसम्म अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य र विवेक पङ्गेनी गरी जम्मा १० जना प्रतियोगी विद्यार्थी दीप गायन तारा बनेका छन्् भने यस प्रतियोगिताका कतिपय विजेताहरूले हाल राष्ट्रिय कलाकारिताको क्षेत्रमा ख्याती कमाएका छन् ।