May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

दाङ– बस दुर्घटना हुँदा दाङमा दुईजनाको मृत्यु भएको छ । बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका–९, रिहार नजिकै गएराति ११ बजे दुर्घटना भएको थियो । दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताए । बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ ।

Advertisement

मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले २ जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।