May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

सरकार देशका लागि बोझ भइसक्योः ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धन सरकारका कारण देशको बाह्य सम्बन्धहरु असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्टाचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकरात्मक मनोविज्ञान बढेको आरोप लगाएका छन् ।

Advertisement

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको बताए । ‘नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका छन्। सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ पूर्वपरराष्ट्र मन्त्री ज्ञवालीले भने।

Advertisement

उनले दस हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको, भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको बताए।

‘आन्तरिक राजश्वले सरकारको दैनिक खर्च पनि धान्ने अवस्था छैन। तर यसमा सुधार ल्याउन सरकारको ध्यान छैन। बरु गठबन्धन राज्यको सम्पत्ती दोहन गर्न लागेको छ। विकास निर्माण ठप्प छ। प्रधानमन्त्री, मन्त्री स्वयम् सामाजिक सम्बन्धहरु, धार्मिक सद्भाव खलबलाउन लागिपरेका छन्,’ ज्ञवालीले भने, ‘गठबन्धन सरकारको विरुद्ध हस्तक्षेप गर्न एमालेले सातै प्रदेशबाट आन्दोलन सुरु गर्दैछ।’

उनले सरकार देशको लागि बोझ भइसकेको बताए। तर पनि तत्कालै सरकार ढाल्नसक्ने अवस्था भने नभएको उनी बताउँछन्। ‘सरकारका बस्ने केही सीमित व्यक्ति बाहेक यो सरकारसँग कोही सन्तुष्ट छैन। सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्। कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन्,’ ज्ञवालीले भने, ‘यति हुँदाहुँदै पनि सरकार बदल्ने बाटो भनेको संसदभित्रको संरचना हो। कांग्रेसले माओवादी नेतृत्वमा भइरहेका सारा कृयाकलापमा आँखा चिम्लिने, माओवादी आफ्ना सबै सिद्धान्तलाई कांग्रेसको सत्ता स्वार्थसँग लगेर तिलाञ्जली दिने गरेको हुनाले संसदीय अंकगणितमा ठूलो परिवर्तन भइहाल्ने र तुरुन्तै सरकार परिवतएन भइहाल्ने त्यस्तो संभावना म देख्दिनँ।’