May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौला कति सुरक्षित ?

राष्ट्रियसभा सदस्य पदका निम्ति मनोनयनपत्र दर्ता गराउने दिन (पुस २३) नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अनुहार हँसिलो देखिन्थ्यो । त्यसको अघिल्लो दिन पार्टीले टिकट दिनासाथ उनी रातभर गाडीको यात्रा गरेर झिसमिसेमा विराटनगर आइपुगेका थिए ।

Advertisement

“मौसमले साथ देला/नदेला, हुस्सु लागेर जहाज नउड्ला भन्ने लागेर म त काठमाडौबाट गाडीमै आएँ,” सिटौलाले भनेका थिए । टिकट वितरणका विषयमा रातभर कांग्रेस केन्द्रीय कार्यालयमा नेताबीच गलफदी भइरहँदा सिटौला विराटनगर आएका थिए ।

Advertisement

विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मनोनयनपत्र दर्ता गराउन उनलाई कांग्रेसका केन्द्रीय, प्रदेश, जिल्लादेखि स्थानीय नेतृत्वले साथ दिए । आफ्नो मात्र नभई फरक गुटका नेता तथा कार्यकर्ता पनि सिटौलालाई हौस्याउन निर्वाचन कार्यालय पुगेका थिए ।

उनले सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवारका रूपमा मनोनयनपत्र दर्ता गराए । तपाईंले जित्ने आधार के हो ? भन्ने प्रश्नमा सिटौलाले जवाफ दिएका थिए, “हामी गठबन्धनमा छौँ, गठबन्धनको मतभारले पुग्छ ।” राष्ट्रियसभामा पुगेर आफू संसदीय व्यवस्था र वर्तमान शासन प्रणालीको विकासमा अझ सक्रिय हुने उनको भनाइ थियो ।

सिटौलाको प्रस्तावक र समर्थक क्रमशः प्रदेश सांसद प्रदीपकुमार सुनुवार र हिमाल कार्की बसेका थिए । कार्की पार्टी सभापति शेरबहादुर देउवानिकट प्रदेशसभा सदस्य हुन् ।

कांग्रेस कोइराला समूहका केदार कार्की कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदा सिटौला पक्षधरको ‘रियाक्सन’ र उनीसहितलाई पार्टीबाट कारबाही गर्नुपर्नेमा समेत जोड दिइएको थियो । तर, मनोनयनपत्र दर्ताको दिन मुख्यमन्त्री कार्की आफैँ सिटौलासँग भेट गर्न निर्वाचन कार्यालयमै पुगे ।

सिटौलालाई साथ दिएर विजयी गराउन उनले अपिल गरे । “उहाँ (कृष्णप्रसाद सिटौला) यो पदका लागि योग्य हुनुहुन्छ,” कार्कीले भनेका थिए, “पार्टीले अघि बढाएपछि हामी सबै लागेर जिताउँछौँ ।”

त्यही दिन नेता डा. शेखर कोइराला र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कोसी प्रदेश कार्यालयमा बसेको गठबन्धन दलको बैठकमा ‘सिटौला सबैको सहमतिमा उमेदवार बन्नुभएको हो’ भन्दै आश्वस्त पारे ।

कोइरालाले ‘राष्ट्रियसभामा जिम्मेवारीका लागि सिटौला उपयुक्त नेता’ भएको बताएका थिए । महामन्त्री शर्माले पनि सिटौलाको उमेदवारी र उनलाई अघि बढाउने विषयमा पार्टीपंक्ति एक ढिक्का भएको सुनाए ।

चुनावी दौडाहा 
मनोनयनपत्र दर्ता गराएदेखि नै नेता सिटौला गठबन्धनतर्फबाट अर्का उमेदवार चम्पा कार्कीसँगै छलफल र चुनावी अभियानमा सक्रिय भएका छन् । उमेदवारले प्रदेशका १४ वटै जिल्लाका मतदातासँग प्रत्यक्ष भेटघाट गरी अन्तरक्रिया गर्ने तय भएको जनाइएको छ ।

नेता सिटौलासहित गठबन्धन उमेदवारको चुनावी अभियान टोली मतदातासँग भेटघाट गर्न जिल्ला दौडाहामा निस्किएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरमा चुनावी भेटघाट सकाइएको छ । शनिबार पाँचथर, इलाम र ताप्लेजुङका मतदातसँग भेटघाट गरिएको छ । धनकुटा, तेह्रथुम र भोजपुरका मतदातासँग हिलेमा कार्यक्रम आयोजना गरिएको छ । खोटाङ, ओखलढुंगा र सोलुखुम्बु हुँदै माघ ९ गते गठबन्धनका उमेदवार विराटनगर आइपुग्नेछन् ।

“माघ १० गते विराटनगरमा सबै मतदातासँग उमेदवारको अन्तरक्रिया कार्यक्रम तय गरिएको छ,” कांग्रेस कोसी प्रचार समिति संयोजक बासु कोइरालाले भने, “हरेक जिल्लामा जिल्लास्तरीय गठबन्धन समिति पनि गठन भएका छन् । त्यहाँबाट समेत अभियानलाई अघि बढाइएको छ ।”

यो अभियानमा सिटौलाले फरक समूहका सांसद एवं पालिकाका प्रमुख र उपप्रमुखलाई समेत साथमा लिएर हिँडेका छन् । सिटौलालाई राष्ट्रियसभाका भावी अध्यक्षका रूपमा पनि हेरिएको छ ।

मतभार
राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति कोसी प्रदेशमा २७४ स्थानीय तहका प्रमुख, उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता छन् । उनीहरूको कुल मतदाता संख्या ३६७ छ । प्रदेशसभा सदस्यको प्रतिमतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ ।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । यस हिसाबले प्रदेशबाट एमालेको मतभार दुई हजार १२०, कांग्रेसको एक हजार ५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

प्रदेशका १३७ स्थानीय तहमा एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका चार, एकीकृत समाजवादीका सात, जसपाका चार र स्वतन्त्र तीन प्रमुख/उपप्रमुख छन् । यस हिसाबले एमालेको दुई हजार ९०, कांग्रेसको दुई हजार १८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुनेछ ।

प्रदेशसभा सदस्य र पालिकातर्फ समेत गरी एमालेको कुल मतभार चार हजार २१०, कांग्रेसको तीन हजार ७२२ र माओवादी केन्द्रको एक हजार २७८ हुनेछ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

यसानुसार सत्ता गठबन्धनको कुल मतभार पाँच हजार ४८३ हुन्छ । यो मतभार एमालेको भन्दा एक हजार २६४ ले धेरै हो ।