May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

बेलहियामा सिटी हस्पिटलको हेल्थ डेस्क, नेपाल–भारतका नागरिक लाभान्वित

भैरहवाः नेपाल–भारत आउजाउ गर्ने दुबै देशका नागरिक तथा बेलहियाका स्थानीयलाई लक्षित गरेर सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले रुपन्देहीको बेलहिया नाकामा हेल्थ डेस्क संचालन गरेको छ । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै शुक्रबार एक दिनका लागि सीमा क्षेत्रमा हेल्थ डेस्क संचालन गरेको हो ।

Advertisement

विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले त्यहाँ आउने सर्वसाधरणको जाँच गरिरहेका छन् । विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य जाँच गराउन पाउँदा उनीहरु खुशी छन् । निजी क्षेत्रबाट संचालित सिटी अस्पतालले लामो समयदेखि गाउँबस्तीमा पुगेर गरिब तथा विपन्न वर्गको निःशुल्क स्वास्थ्य परीक्षण शिविर चलाउँदै आइरहेको छ । यसैको शिलशिलामा बेलहियामा पनि निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए ।

Advertisement

‘हामीले आमनागरिकलाई कसरी सहजै स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सकिन्छ, रोग पत्ता लगाई उपचार गरेर कसरी स्वस्थ जीवनयापनको वातावरण सिर्जना गर्न सकिन्छ भनेर ठाउँठाउँमा निःशुल्क शिविर संचालन गरिरहेका छौं’, पौडेलले भने, ‘शिविरमा गम्भीर र शल्यक्रिया गर्नुपर्ने किसिमका विरामी भेटिएमा कयौंको अस्पतालमा बोलाएर निःशुल्क एवं कतिलाई विशेष छुटमा उपचार गर्दै आएका छौं ।’

बेलहियामा संचालित हेल्थ डेस्कमा मृगौला रोग विशेषज्ञ डा.सुवोधकुमार पाण्डेय, जनरल फिजिसियन संजयप्रसाद शाह, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. राकेश यादव लगायत चिकित्सक र स्वास्थ्यकर्मीसहित १५ जनाको टिम खटिएका छन् । स्वास्थ्य जाँचका क्रममा आवश्यकताका आधारमा विरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको अस्पतालकी व्यवस्थापक रिता घिमिरेले बताइन् । यस्तै, हेल्थ डेस्कमा निःशुल्क सुगर, प्रेसर र मृगौलाको परीक्षण पनि भइरहेको छ ।

‘हामीले हेल्थ डेस्कमा जाँच गराएका विरामी यदि एक हप्ता भित्र अस्पताल आएमा डाक्टरले लिने शुल्क पूर्णरुपमा छुट गरेका छौं भने ल्याब परीक्षणमा १५–२० प्रतिशत छुट दिनेछौं’, घिमिरेले भनिन् । उक्त हेल्थ डेस्कबाट करिब ५ सय जनाले निःशुल्क सेवा लिने अपेक्षा राखिएको छ । यहाँ आफ्नो स्वास्थ्य परीक्षणका लागि बेलहिया आसपासका स्थानीयसहित भारतको सुनौली, नौतनवा लगायतबाट सर्वसाधरण आएका छन् ।

एक सय बेडको उक्त अस्पतालले न्यूरो सर्जरी, जनरल फिजिसियन, हाडजोर्नी तथा नसा रोग, मृगौला रोग सम्बन्धी विशेषज्ञ सेवाका साथै बालरोग विशेषज्ञ सेवा, २४ सैं घण्टा आकस्मिक सेवा, मुटु, जनरल सर्जरी, नाक, कान, घाँटी रोग सम्बन्धी विशेषज्ञ सेवा उलब्ध गराउँदै आएको छ । यस्तै, महिला तथा स्त्री रोग, कपाल प्रत्यारोपण, निःशुल्क हेमो डायलासिस सेवा समेत प्रदान गरिरहेको छ ।

अस्पतालमा सुविधासम्पन्न आईसीयू र एनआईसीयू सेवाका साथै ६४ सलाइसको सीटी स्क्यान सेवा पनि उपलब्ध छ । यसका साथै अस्पतालले सुरक्षित गर्भपतन सेवा, सम्पूर्ण शल्यक्रिया सेवा, फिजियोथेरापी सेवा, मोडुलर ओटी, मोडुलर ल्याबसेवा, भिडियो एक्सरे, डिजिटल एक्सरे सेवा उपलब्ध गराइ रहेको छ । आधुनिक मेसिनद्वारा सम्पूर्ण रगत र पिसावको समेत जाँच गरिँदै आएको छ ।