May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

पराजितलाई राष्ट्रियसभामा उम्मेदवार बनाउनु व्यवस्थामाथिकै प्रहारः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन्। प्रतिनिधि सभा निर्वाचनमा हारेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार भएको जिकीर गर्दै लामिछानेले त्यसप्रति आक्रोश व्यक्त गरेका हुन्।

Advertisement

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले निर्वाचनमा हारेकाहरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भिर प्रहार भएको बताए।

Advertisement

राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा पनि यो राजनीतिक प्रणालीमाथिको गम्भिर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाई थियो । सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम) को आधारमा चयन गर्नुपर्ने प्रस्ताव पनि गरे।  संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उनको माग थियो।

सभापति लामिछानले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसक्ने बताए।

उनले भने, ‘ल आज चुनाव हारेका मान्छेहरु राष्ट्रिय सभामा ठाँटले यही कार्यकाल चुनाव हारेका मान्छेहरु उठिरहेका छन् । मैले उदाहरण दिएको यहाँहरुलाई । तपाईहरुले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ।  मलाई विश्वास छ–यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदा खेरी व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेरी यहाँहरुले गर्ने प्रतिवाद खोइ त ?’

उनले मेरिट बेसमा मान्छे सेलेक्ट भयो भने उपस्थिति मात्रै होइन, कहिले बैठक राख्ने भनेर उपस्थित पनि हुने बताए। ‘यो सेलेक्सनको विधि भनेको विश्वव्यापी मान्यता हो । त्यो मेरिट वेसमा पनि आफ्ना मान्छेहरु हुन्छन भन्नुभयो भने त्यस्तो नहुने कार्यविधि हामी बनाउन सक्दैनौं ? यतिमा जनताले विश्वास गरेर जिताएका हामी माननीयहरुले यो देशमा योग्यतम मान्छे छान्न सक्ने कार्यविधि बनाउन सक्ने हाम्रो क्षमता छैन ? के तपाई हामी आफ्नै क्षमतामाथि प्रश्न गरिरहेका छौं ?’ उनले भने।

उनले यो व्यवस्थालाई हाईज्याक हुनबाट बचाउन पनि नेताहरुसँग आग्रह गरे।