April 22, 2025, Tuesday
२०८२ बैशाख ९

छोरीको जन्मदर्ता गरे पाँच हजार

भैरहवा– रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले गत वर्षदेखि सुरु गरेको बालिका जन्म प्रोत्साहन भत्ता कार्यक्रम अन्तर्गत छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराउने परिवारलाई ५ हजार रुपैयाँ दिने कार्य यस वर्ष पनि निरन्तर चलेको छ । गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले छोरालाई मात्र बढवा दिने पचलन कम गर्न यस्तो कार्यक्रम लागू गरिएको बताए । ‘छोरीलाई जन्मेपछि दुःख मात्र दिने वा जन्मनै नदिने (भ्रुण हत्या) गर्ने परिपाटीलाई पनि कम गर्न सकिन्छ कि भन्ने सोंचले कार्यक्रम चलाएका छौं,’ त्रिपाठीले भने, ‘यो कार्यक्रमले आफू छउन्जेल निरन्तरता पाउने छ ।’

कोटहीमाई–१, परसपुर बस्ने किसनकुमार पासीले ०८० साल मंसिर २५ गते पालिकामा छोरीको जन्म दर्ता गराएको पत्रसहित निवेदन पेश गरे । उनकी छोरीको जन्म भएको २५ दिनमै उनले जन्मदर्ता गरिदिएको बताए । ‘म विदेश जान्छु, छोरीको जन्मदर्ता गराइसकें,’ उनले भने, ‘पैसा पाइने रैछ, किन ढिला गर्ने ? बेलैमा गरिदिएँ, पैसाको लागि निवेदन दिएँ ।’ यस वर्षको बजेट अन्तर्गत संकलित निवेदनको भुक्तानी केही समयमा सुरु हुने भएकाले उनको निवेदन लेखा शाखामा जम्मा गरिएको हो ।

Advertisement

बालिका जन्म प्रोत्साहन कार्यक्रम अन्तर्गत गत वर्ष १५ लाख रुपैयाँ छुट्याइएको पालिकाका लेखा अधिकृत निरन्जन ज्ञवालीले बताए । उनका अनुसार उक्त वर्ष ११ लाख ५ हजार रुपैयाँ वितरण गरिएको थियो । ‘यस वर्ष ८ लाख विनियोजन गरिएको छ,’ उनले भने, ‘यसभन्दा धेरै आवश्यक परे पालिकाको बैठबाट पारित गरेर लागु गरिनेछ ।’

एक आर्थिक वर्षमा पालीकाभरि जन्म हुने हरेक छोरीले ५ हजार पाउने सुविधा भएकाले ३५ दिनभित्र उनीहरुको जन्मदर्ता गराइसक्न पर्ने प्रावधान राखिएको उनले जानकारी दिए । उनले यस वर्षका लागि हालसम्म संकलन भएका २० बढी निवेदनको भुक्तानी केही दिनमै सुरु गरिने बताए । यस कार्यक्रमले पालिकामा राम्रो प्रभाव परेको महशुस गरेको उनले बताए । गत वर्ष पालिकाबाट २ सय २१ जनाले सो प्रोत्साहन भत्ता पाएका थिए ।