April 23, 2025, Wednesday
२०८२ बैशाख १०

नेपाल–भारतबीच भएको सम्झौतामा नेता खनालको आपत्ति

भैरहवा– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिहीवार भारतसँग भएको सम्झौता राष्ट्रियता विरोधी रहेको आरोप लगाएका छन् । यो सम्झौतालाई तुरुन्त रद्द गर्नु पर्ने माग उनको छ ।

बिहीवार नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौं बैठकमा भएका चार सम्झौतामध्ये उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको नाममा भएको सम्झौताको उनले बिरोध जनाएका हुन् ।

Advertisement

छिमेकी भारतको नेपालस्थित राजदूतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्ने प्रावधानले एउटा सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता भएको दावी उनको छ । ‘गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीहरूलाई स्तब्ध, आश्चर्यचकित र क्रुद्ध बनाएको छ’, शुक्रवार उनले प्रेस बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘म यो सम्झौताको सम्पूर्ण देशभक्त नेपालीको तर्फबाट कडा शब्दमा बिरोध गर्न चाहन्छु ।’

यो लापरबाहीपूर्ण र राष्ट्रहित विरोधी मात्र सम्झौता नभइ नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत भएको उनको भनाइ छ । नेपाल दक्षिण एशियाकै सबै भन्दा पुरानो र जेठो स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले प्रेस बिज्ञप्तीमा आफ्नो देश र जनतको बिकासका निम्ति कहाँ, कस्तो र कत्रो बजेट दिनु पर्छ ? त्यो पूर्ण रुपले नेपालको आन्तरिक अधिकारको कुरा भएको उल्लेख गरेका छन् ।

यो सम्झौतालाई राष्ट्रघातीको संज्ञा दिँदै उनले सरकारले नेपाली जनताका सामु माफी मागी नेपाली जनताको सार्वभौम र अधिकारको रक्षा गर्न माग गरेका छन् । अन्यथा नेपाली जनता सरकारबिरुद्ध सडकमा उत्रिन बाध्य हुने चेतावनी पनि उनले दिएका छन् ।