April 22, 2025, Tuesday
२०८२ बैशाख ९

भारतले २० करोड लगानी जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा सिधै लगानी गर्न पाउने २० करोड रुपैयाँको विभिन्न प्रक्रिया भएको स्पष्ट पारेका छन् । उक्त लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए ।

भारतीय दूतावासले अबदेखि नेपालभित्र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)अन्तर्गत सञ्चालन गरिने कुनै पनि आयोजनामा २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने विषयमा प्रधानमन्त्रीले स्पष्ट पारेका हुन् । बिहीबार नेपाल र भारतबीच ‘सरकारी संस्थाहरू वा अन्य कुनै संस्थामार्फत एचआईसीडीपीका लागि अनुदान सहयोग कार्यान्वयनसम्बन्धी सम्झौता’मा हस्ताक्षर भएसँगै भारतीय दूतावासले उक्त सुविधा पाएको हो ।

Advertisement

भारतले यसअघि यस्ता परियोजनामा बढीमा पाँच करोड रुपैयाँ खर्च गर्न पाउँथ्यो । नयाँ सम्झौतासँगै भारतीय दूतावासलाई नेपालभित्र प्रत्यक्ष २० करोड रुपैयाँसम्म एउटा परियोजनामा खर्च गर्न छुट दिइएको हो ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम तीन करोडबाट सुरु भएर अहिले २० करोड पुर्याइएको बताए । उनले सिधै लगानी गर्न नपाउने जनाए । राष्ट्रहीत विपरीत हुनै सम्झौता नगरिएको र गर्न पनि नसकिने प्रधानमन्त्रीले स्पष्ट पारे ।

“तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो, तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रक्रिया छ,” उनले भने, “नगरपालिकाबाट गर्ने हो । तर, उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन लागिनेछ ।” बैठकमा त्यसअघि नेकपा (एमाले)का सांसद रघुजी पन्तले त्यस्तो लगानीले बाह्य हस्तक्षेप बढाउने बताएका थिए ।