दैनिक उपभोग्य वस्तुमा मनपरी चिल्लोपदार्थ


भैरहवा– मुलुकका सहरमा उपलब्ध अधिकांश उपभोग्य बस्तुमा मनपरि चिल्लो पदार्थको प्रयोग भइरहेको पाइएको छ । बजारमा खाद्य पदार्थको प्रयोग हुने ‘ट्रान्सफ्याट’मा नियन्त्रण नहुँदा मनपरि बढेको सरोकारवाला बताउँछन् ।
अनुगमन र परीक्षण गर्दा औद्योगिक ट्रान्सफ्याटको मात्रा २० देखि ३० प्रतिशतसम्म पाइने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्य बताइन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन् २०२३ को डिसेम्बरसम्ममा संसारबाट ट्रान्सफ्याटलाई हटाउन सिफारिस गरेको छ । सोहीअनुसार अमेरिका, डेनमार्क, थाइल्यान्ड, युरोपियन युनियन, जापान, भारतलगायत ६० भन्दा बढी मुलुकले ट्रान्सफ्याटसम्बन्धी नीति तथा कानुन कार्यान्वयनमा ल्याएका छन् ।
‘ट्रान्सफ्याटको मात्रा आँखाले देखिन्न । बिस्कुट, पाउरोटी, आइसक्रिम, नुडल्स्, केक, बेकरी प्रोडक्ट, आलुचिप्स, वनस्पति घिउ वा तेलमा तारेका खानेकुरा सबैतिर प्रयोग हुन्छन् । तिनमा ट्रान्सफ्याट मनोमानी प्रयोग हुन्छ,’ उनले भनिन्, ‘यसबारे मापदण्ड बनाउन करिब दुई वर्षदेखि प्रयास गरिरहेका थियौं, पछिल्लो समय मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।’
संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएका नाताले नेपालले विश्व स्वास्थ्य संगठनको ट्रान्सफ्याटसम्बन्धी सिफारिसलाई अंगीकार गरिएको महानिर्देशक वैद्यले बताइन् । ‘खाद्यवस्तुमा अत्यधिक मात्रामा ट्रान्सफ्याट हुँदा मुटुको समस्या निम्तिन्छ । त्यसलाई दृष्टिगत गरी विभिन्न सरोकारवाला निकायकसँग छलफल र राय लिएर मापदण्ड बनाएका छौं,’ उनले भनिन्, ‘मन्त्रिपरिषद्बाट मापदण्ड स्वीकृत भएको छ ।’
०८० पुस १२ को मन्त्रिपरिषद् बैठकले खाद्यपदार्थमा औद्योगिक ट्रान्सफ्याटको अधिकतम सीमा तोक्ने निर्णय गरेको हो । ट्रान्सफ्याटको अधिकतम सीमा निर्धारणसम्बन्धी मापदण्डमा खाद्यवस्तुमा चिल्लो पदार्थ २ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ । ‘उदाहरणका लागि एक ग्रामको खाद्यवस्तुमा २ प्रतिशतभन्दा बढी चिल्लोपदार्थ हुनु हुँदैन । बिस्कुटमा करिब १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ, बच्चादेखि नै फयाट उपभोग भइराखेको छ,’ वैद्यले भनिन्, ‘औद्योगिक ट्रान्सफ्याटको गुणस्तरमा मापदण्ड बनेको छ । अब कार्यान्वयनमा जान्छौं ।’
वनस्पति तेललाई जति धेरै पटक ततायो, त्यति नै त्यसमा ट्रान्सफ्याटको मात्रा बढ्दै जान्छ । जति धेरै ततायो, तेल त्यति बढी हानिकारक बन्दै जाने विभागको भनाइ छ । यस्तो तेलमा पकाएको पकौडा, समोसा, चाउचाउ, आलु, चिकेन, अन्य तारेका खाने कुरा स्वादिलो भए पनि स्वास्थ्यका लागि अत्यन्तै हानिकारक स्वास्थ्यकर्मी बताउँछन् ।
ट्रान्सफ्याट खराब चिल्लो पदार्थ हो । यसले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ र असल कोलेस्ट्रोल घटाउँछ, रक्तनलीहरूको भित्री भागमा नकारात्मक असर पारी त्यहाँ रगतका थेग्रा जम्ने सम्भावना बढी रहने विभागको दाबी छ । ‘रक्तनली साँघुरिने क्रम बढाउँछ, मुटुको धमनीको रोग, हुदयघात र मस्तिष्काघात हुने सम्भावना वृद्धि हुन्छ,’ विभागले तयार पारेको प्रस्तुतीकरणमा भनिएको छ, ‘तसर्थ, ट्रान्सफ्याट मुटु र रक्तनलीहरूका लागि अत्यन्तै हानिकारक छ ।’
प्रतिकृया दिनुहोस्