April 23, 2025, Wednesday
२०८२ बैशाख १०

प्रदेश गृहमन्त्रीहरूको दबाबपछि संघीय प्रहरी विधेयकको मस्यौदा तयार पारिँदै

भैरहवा– प्रदेशका गृहमन्त्रीहरूले प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिन थालेपछि सरकारले संघीय प्रहरी ऐनका लागि बिधेयक जारी गर्ने गृहकार्यमा जुटेको छ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउँदै संघीय प्रहरी विधेयकको मस्यौदा तयार पार्ने कार्यमा सरकार जुटेको हो । यसका लागि गृह प्रशासन सुधार समितिका अध्यक्ष पूर्व मुख्यसचिव लीलामणि पौड्याल, सदस्य पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीसहितको टोली यतिखेर सुझाव संकलन र छलफलमा क्रियाशील छ । टोलीले आईजीपी वसन्तबहादुर कुँवरसँग यस वारेमा छलफल गरिसकेको छ ।

संघीय ऐन जारी गर्दा ३० वर्षे सेवा अवधि हटाएर लागु गर्ने गरी ऐन ल्याउन लागिएको एक उच्च प्रहरी अधिकारीले बताएका छन् । प्रदेश प्रहरी ऐन बनाइसक्दा पनि संघीय प्रहरी ऐन जारी नभएको भन्दै केही दिनअघि प्रदेशका आन्तरिक मामिला मन्त्रीहरू सामूहिकरूपमै काठमाडौं पुगेका थिए ।

Advertisement

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी प्रहरी समायोजन चाँडो कार्यान्वयन हुनुपर्ने माग राखेका थिए । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले पनि संघीय ऐन ल्याउने गृहकार्य सुरु भएको र त्यससँगै ३० वर्षे सेवा अवधि हटाउनेबारे छलफल भएको बताएका छन् ।

‘संघीय प्रहरी ऐन नबनी प्रहरी समायोजन हुन सक्दैन र त्यसका लागि संघीय ऐन आवश्यक छ’, कडायतले भने, ‘संघीय ऐन ल्याउँदा ३० वर्षे सेवा हटाउने गरी ल्याउने तयारी भएको हो ।’ हाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण कसैले पनि आफ्नो पूर्णकार्यकाल चलाउन पाएका छैनन् । प्रहरी नियमावली २०७१ अनुसार, हाल प्रहरी महानिरीक्षक (आईजी) को पदावधि चार वर्ष हुने व्यवस्था छ । तर, ३० वर्षे सेवा हदका कारण कुनै पनि आईजीपीको कार्यकाल चार वर्ष हुन सकेको छैन ।

सरकारले तयारी गरेको संघीय प्रहरी ऐनमा भने ३० वर्षे सेवा अवधिसगै पदावधि र उमेरमा हेरफेर गर्न लागेको हो । ३० वर्ष हटाएर आईजीको पदावधि चार वर्षबाट एक वर्ष घटाउदै तीन वर्ष राख्ने तयारी भएको छ । त्यस्तै, कामय रहेको आईजीको उमेर हद ५८ वर्ष भने यथावत् रहने छ । एआईजीको हकमा तर हेडक्वाटरको प्रस्तावमा एआईजीको उमेर हद एक वर्ष बढाउँदै ५७ वर्ष र पदावधि चार वर्ष हुने छ ।

हाल एआईजीको ५६ वर्ष र पदावधि पाच वर्ष छ । तर, ३० वर्षे सेवा हदका कारण कुनै पनि एआईजीको कार्यकाल पाच वर्ष हुन सकेको छैन । ३० वर्षे सेवा अवधि हटेमा डीआईजी, एसएसपी र एसपीको उमेर हद ५६ वर्ष र पदावधिमा डीआईजीको पाँच वर्ष र एसएसपीको ६ वर्ष राख्ने प्रस्ताव गरिएको छ ।

सुदूरपश्चिम अछामका मोतिलाल बोहरालाई आईजीपी बनाउन प्रहरीमा ३० वर्षे सेवा अवधि लागु गरेको आरोप कांग्रेस सभापति शेरबहादुर देउवामाथि लाग्ने गरेको छ । देउवा गृहमन्त्री हुँदा २०४९ १५ फागुनमा प्रहरीमा ३० वर्षे सेवा लागु भएको हो । त्यो बेला प्रहरी नियमावली फेरबदलबाट रत्नशमशेर जबराको सेवावधि अन्त्य गरी बोहरालाई आईजीपी बनाइएको थियो ।