April 22, 2025, Tuesday
२०८२ बैशाख ९

मर्चवारमा ८ वर्षिया बालिकाको हत्या, एकजना पक्राउ

भैरहवा– रुपन्देहीमा एक बालिकाको हत्या भएको छ । जिल्लाको दक्षिणी क्षेत्र मर्चवारमा ८ वर्षीया बालिकाको हत्या भएको हो । मर्चवारी गाउँपालिका–१, इस्लामपुरका शेषमन कुर्मीकी ८ वर्षीया छोरी नन्दनी कुर्मीको हत्या भएको रुपन्देही प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि हराइरहेकी कुर्मीको शव मर्चवारी–१, इस्लामपुरमा शनिबार फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या भएको खुलेको छ ।

प्रहरीले हत्यामा संलग्नको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी सोही वडाको महाराजगंज बस्ने ३२ बर्षीया अकबर अलीलाई हत्या आरोपमा पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा उनले हत्या गरेको स्वीकारेका छन् । कारण भने खुलेको छैन ।