May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

लुम्बिनीमा लम्पी स्किनविरुद्धको खोप धमाधम, अहिलेसम्म ७५,४२० चौपायामा लगाइयो

भैरहवा– लम्पी स्किन रोग लागेर विरामी भएका १ लाख ९२ हजार १८ चौपायामध्ये लुम्बिनी प्रदेशमा हालसम्म ७५ हजार ४ सय २० पशुपन्छीमा खोप लगाइएको छ । लुम्बिनी प्रदेश पशुपन्छी विकास निर्देशनालयले पछिल्लो पटक धमाधम खोप कार्यक्रम चलाइएको र रोग निको हुने चौपायाको संख्या पनि बढीरहेको जनाएको छ ।

Advertisement

लम्पी स्किनविरुद्धको खोप अहिले जिल्लाका स्थानीय पालिका र पशु कार्यालयले संचालन गरिरहेका छन् । निर्देशनालयका अनुसार लम्पी स्किन रोगबाट अहिलेसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा ९ हजार ६११ पशुचौपायाको मृत्यु भएको छ । १ लाख १८ हजार १२९ पशुपन्छीको उपचार गरिएको छ ।

Advertisement

निर्देशनालयका निर्देशक एवं सूचना अधिकारी डा.लोकराज भुसालका अनुसार लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट सबैभन्दा बढी रोल्पामा पशुचौपाया मरेका छन् । रोल्पामा ३ हजार ४९१ पशु परेका छन् । भुसालले जनाएअनुसार रोल्पामा ३१ हजार २१८ पशु सङ्क्रमित छन् भने हालसम्म त्यहाँ १८ हजार १६६ पशुपन्छीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

प्युठानमा ३४ हजार ७२० सङ्क्रमित मध्ये ८११ पशुपन्छीको मृत्यु भएको छ । अर्घाखाँचीमा ७ हजार २४१ सङ्क्रमित भएका छन् भने ३४२ पशुपन्छी मरेको भुसालले बताए । यस्तै, गुल्मीमा ९ हजार ४४७ सङ्क्रमित भएकामा ३९० पशुपन्छीको मरिसकेका छन् । पाल्पामा ६ हजार ६७१ सङ्क्रमित पशुपन्छीमध्ये ३६५ मरेका छन् । नवलपरासी पश्चिममा ८९४ सङ्क्रमित भएकामा ४१ पशुपन्छी मरेको भुसालले जानकारी दिए ।

रुपन्देहीमा ७ हजार ९३४ सङ्क्रमित मध्ये ४४७ पशुपन्छीको मरेका छन् भने ७ हजार ३३२ लाई खोप लगाइएको छ । दाङमा २९ हजार २११ पशु सङ्क्रमित भएकामा ७७६ पशुको मर्दा रुकुममा १४ हजार ४०९ सङ्क्रमित भएका थिए भने २ हजार ६२ पशुको मृत्यु भएको छ । यस्तै, बाँकेमा ४१ हजार ५२ सङ्क्रमित भएकामा १५२ पशुको मरेका छन् । बर्दियामा १ हजार ७८ पशु सङ्क्रमित हुँदा १२५ पशुको मरेका छन् ।

भुसालका अनुसार बाँकेमा ६ हजार २३७, बर्दियामा ५ हजार २२५, दाङमा ३ हजार ६००, रुकुममा १२० पशुपन्छीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यस्तै, कपिलवस्तुमा ४ हजार २५, प्युठानमा ७४७, गुल्मीमा ११ हजार १४९, पाल्पामा २ हजार २६९ र अर्घाखाँचीमा ४ हजार ४०९ पशुपन्छीमा खोप लगाइएको छ । नवलपरासी पश्चिममा भने अहिलेसम्म कुनै पनि पशुपन्छीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छैन ।