युसियमएस र रुपन्देही प्रहरीबीच स्वास्थ्य सेवामा छुट दिने सहमती


भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देही र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसियमएस)बीच प्रहरी कर्मचारीलाई स्वास्थ्य उपचारमा छुट दिने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त सहमति भएको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर बिक र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पीएसबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पति दुबै पक्षले सम्झौतापत्र आदान प्रदान गरेका थिए ।
सम्झौतामा जिल्लामा कार्यरत बहालवाल प्रहरी कर्मचारीहरु तथा उनीहरुसँग आश्रित परिवारका सदस्यहरुको स्वास्थ्य उपचार सेवामा शुल्क छुट दिने सहमति छ । शिक्षण अस्पतालले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी कार्य हौसला प्रदान गर्न सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको एसपी विकले जानकारी दिए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत पीएसले आमनागरिकको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई स्वास्थ्य उपचारमा सहजता र सुलभताका लागि छुज सम्झौता गरिएको जनाए । तर, कति प्रतिशत छुट दिने भन्नेबारे भने दुबै पक्षले खुलाएका छैनन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.सुदन मुखी, सोही अस्पतालका क्याम्प कोर्डिनेटर तेजबहादुर केसी र प्रहरी अधिकृतहरुको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्