खड्कालाई सातौं जिल्लास्तरीय स्नुकरको उपाधि


बुटवल– सातौं जिल्लास्तरीय स्नुकर प्रतियोगिताको उपाधि बुटवलका शंकर खड्काले जितेका छन् । खस्यौली स्नुकर क्लब बुटवलमा बेस्ट अफ इलाभेनका आधारमा खेलाइएको फाइनल खेलमा भैरहवाका शिशिर गुरुङलाई ६–४ ले पराजित गर्दै शंकर खड्काले उपाधि जितेका हुन् ।
रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा भएको प्रतियोगितामा रुपन्देहीका १२८ जना खेलाडी सहभागी भएका थिए । उपाधि विजेता खड्काले ५० हजार र उपविजेता गुरुङले २५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा ५५ स्कोरसहित खड्काले हाई स्कोररको नगद १० हजार पुरस्कार पनि हात पारे । यस्तै उदियमान खेलाडीमा सम्बन्ध विक र अनुशासित खेलाडीमा सागर गाहा र डेभिड गौचनले समान ५ हजार रुपैयांका दरले नगद पुरस्कार पाएका छन् ।
विजयी खेलाडीहरुलाई बुटवल उपमहानगरपाकिलाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा उनले स्नुकल खेललाई पनि उपमहानगरले आधिकारिक खेलको मान्यता दिने बताए । संघका अध्यक्ष सुजन पुनले स्नुकर खेललाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न तिनै तहका सरकारको ध्यानाकर्षण गराए । उनले स्नुकर खेल विश्वमा पुरानो र प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।
समापन समारोहमा संघका पुर्व सचिव एवं बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,संघका प्रथम उपाध्यक्ष बासु प्रधान, सचिव प्रकाश क्षेत्री लगायतले संघले आगामी दिनमा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने बताए । समारोहमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका संघसंस्थालाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्