May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कपिलवस्तुको जगदीशपुरमा प्राणीशास्त्रीको भेला

कपिलवस्तु– लुम्बिनी प्रदेशका प्राणीशास्त्रीको यहाँस्थित जगदीशपुर तालमा भेला आयोजना भएको छ । उक्त भेलाले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यापर्यटनको आकर्षण र सम्भावनालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने कुरामा जोड दिएको छ ।

Advertisement

नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशद्वारा पक्षी आरक्ष जगदीशपुरमा आयोजित अन्तक्र्रियामा यस क्षेत्रका चरा, वन्यजन्तु, सरिसृप र उभयचर संरक्षण गरी पर्यापर्यटनको आकर्षण थप्न र पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सक्ने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेको छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा पर्यापर्यटनको प्रशस्त सम्भावना हुँदा स्थानीय, प्रदेश र संघीय सरकारले नीति, योजना र कार्यक्रम बनाइ लागू गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

Advertisement

पर्यटन प्रवद्र्धनबाट स्थानीयका साथै राज्यले राम्रो लाभ लिन सक्ने सहभागीहरुको जोड थियो । लुम्बिनी प्रदेशका करिब सय जना प्राणीशास्त्री भेला भएको कार्यक्रममा लुम्बिनी पर्यटन परिषद्का कार्यकारी अधिकृत राजु जोशी, चराविद् कृष्णप्रसाद भूषाल र लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक डिन उकेशराज भुजुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्राणीशास्त्रमा उल्लेखनीय भूमिका खेलेबापत ६ जनालाई सम्मान पनि गरिएको थियो ।

अन्तक्र्रियापछि आयोजित नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको अधिवेशनले पुनः बाबुराम बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । त्यस्तै, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः भेषराज चौधरी, कमलकुमार शर्मा, अम्मर केसी र श्रीराम पौडेल छन् । त्यस्तै, सदस्यमा हिराबहादुर राना, विवेक डिसी, अंकितकुमार सिंह, अब्दुल हामिक खान, विशाल आचार्य र शिवराज न्यौपाने छन् ।