कोशीका मुख्यमन्त्री थापा पदमुक्त, साउन १७ भित्र बहुमतको सरकार गठन गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेको छ। न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापालाई बिहीबार पदमुक्त गरेको हो।
सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए। सभामुख गौतमसहितको समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। सर्वोच्चले सभामुखको समर्थनमा मुख्यमन्त्री बन्न नमिल्ने उल्लेख गरेको छ।
यसबिरुद्ध नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।
कार्कीले थापाको नियुक्ति बदर गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए । सर्वोच्चले कार्कीलाई नियुक्तिको परमादेश दिनभने अस्वीकार गरेको छ।
सभामुखसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई सर्वोच्चले पदमुक्त गरेसँगै अब त्यहाँ के हुन्छ भन्ने स्वाभाविक चासो सुरु भएको छ।
सर्वोच्चले संविधानको धारा १६८ (२) अनुसार बहुमत सदस्यको समर्थनसहित सरकारको दाबी गर्न साउन १७ गतेसम्मको म्याद दिएको छ। सर्वोच्चले थापाको पदमुक्तिसँगै धारा १६८ (२) अनुसारको सरकार गठनका लागि एक साताको म्याद दिएको हो।
सर्वोच्चले साउन १७ भित्र बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख खापुङलाई परमादेश जारी गरेको छ।
प्रतिकृया दिनुहोस्