April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचार सेवा सञ्चालन गर्ने

दाङ- नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचार सेवा सञ्चालन गर्ने भएको छ। लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख  प्रशासक अधिकृत शम्शेर थापाले जानकारी दिए।
    
लमही नगरपालिका–५, रातोडाँडास्थित नगरविकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी उपचार सेवा प्रदान गरिने उले जानकारी दिए। उनले भने, “कान उपचार सेवा सञ्चालनमा लागि  सबै क्षेत्रबाट सहयोग आवश्यक छ।” 
    
उनले कार्यक्रममा लमही आँखा अस्पतालको रणनीतिक कार्ययोजनासमेत प्रस्तुतीकरण गर्नुभएको थियो। चालु आर्थिक वर्षमा लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको निःशुल्क उपचार सेवामा सहजीकरण गरिरहेका  गरेका छन्। 
    
लमहीका सबै वडामा निःशुल्क आँखा जाँच गरिएको छ। जाँच गरिएका छ सय ५० जनामध्ये चार सय छ जनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया पनि गरिएको छ। बाँकी दुई सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ। गढवाको सबै वडामा निःशुल्क आँखा जाँच गर्दा चार सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र तीन सय चार जनाको शल्यक्रिया गरिएको छ। अब एक सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी छ। राजपुर गाउँपालिकामा पाँच सय ५१ र राप्ती गाउँपालिकामा आठ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ।

Advertisement