January 25, 2025, Saturday
२०८१ माघ १२

बुटवलमा फागुन पहिलो सातादेखि राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने

बुटवल- रुपन्देहीको बुटवलमा आगामी फागुनकाे पहिलो सातादेखि लन टेनिस प्रतियोगिता हुने भएकाे छ। बुटवलमा आयाेजना हुँदै आएकाे याे प्रतियोगिता रुपन्देही लनटेनिस संघले  आयाेजना गरेको पाँचौ संस्करणकाे प्रतियोगिता हाे।

आयाेजक लन टेनिस संघले प्रतियोगिताबारे जानकारी दिन बुधबार बुटवलमा आयाेजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गाेपाल ज्ञवालीले संघले २०७२ सालदेखि लन टेनिसकाे राष्ट्रिय प्रतियोगिता गर्दै आएको जानकारी दिए।  `याे हामीले आयाेजना गरेको पाँचौ संस्करणकाे प्रतियोगिता हाे, यसपटक बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग हुने भएकोले प्रथम कपकाे रुपमा नाम दिएका छाैं´, ज्ञवालीले भने।

Advertisement

फागुन ६ देखि १० सम्म संचालन हुने  प्रतियोगितामा देशभरबाट बिभिन्न उमेर समूहका पुरुष तथा महिला खेलाडीहरुले भाग लिने ज्ञवालीले बताए। `याे लनटेनिसकाे कुम्भ मेला हाे देशभरबाट युगल,सिंगल, भेट्रान्स सिंगल, डवल गरी १२ बिधाका १५० खेलाडी सहभागी हुनेछन्´, ज्ञवालीले भने।

प्रतियोगिताको पुरुष महिला सिंगलतर्फ उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणप तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतिय दुई जना खेलाडीलाई जनही २० हजार रुपैयाँ मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

त्यसैगरी सिंगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई क्रमश नगद ३० हजार, १५ हजार १० हजार रुपैयाँ ४५ वर्षमा विजेता, उपविजेता तथा तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश: २५ हजार, १५ हजार १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समूहका विजेता, उपविजेता र तृतियलाई क्रमश: २० हजार, १० हजार र ५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ । यसैगरि ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतिय खेलाडीलाई क्रमश: १५ हजार, ७ हजार ५ सय तथा ३ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ।

यसैगरि डबल्सतर्फ पुरुष डबल्स महिला डबल्सको उपाधि विजेतालाई नगद २० हजार, उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि भेट्रान्स डबल्स तर्फ ३५/४५/५५/६५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमश: नगद १५ हजार १० हजार रुपैयाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । ५२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ४ लाख २२ हजार ५ सय रुपैयाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयाेजककाे छ।