April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

भेरी रकर्स र नेपालगञ्ज मोडेलको जित

नेपालगञ्ज – सद्धाव अन्सारीले ९७ रनको योगदान गरेपछि नेपालगञ्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा भेरी रकर्सको पुरुष टिमले शानदार जित हासिल गरेको छ।

Advertisement

सोमबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा भेरी रकर्सले बाँके बारियर्सलाई १ सय ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मंगलप्रसाद उच्च माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भेरी रकर्सले २० ओभरमा ३ विकेटको नोक्सानीमा २ सय ४६ रन जोडेको थियो।

Advertisement

प्लेयर अफ द म्याच बन्न सफल भएका रकर्सका सद्धावले ४६ बलमा १३ चौका र ५ छक्का प्रहार गर्दै ९७ रन बनाएका थिए। शतक प्रहार गर्न ३ रन आवश्यक परेका बेला सद्धाव क्याट आउट भएका थिए।

रकर्स लागि साहिल अन्सारीले ३५ रन, ओपनर साहिद अन्सारीले २९ रन, सद्धाम शेखले १८ र सम्सुद्धिन अन्सारीले १६ रन जोडेको थिए। बाँके बारियर्सका सजल पुन, सिद्धार्थ कश्यप र अविशेख गारुकले १–१ विकेट लिए।

जवाफमा बाँके वारियर्सका खेलाडीले १३ ओभमा ८४ रन बनाएर अलआउट भएका थिए। वारियर्सका राजन कश्यपले सर्वाधिक २९ रन, इमरान जसगरले १८ रनबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्। रकर्सका रोशन कुमार साहु, साहिद अन्सारी र साहिब अन्सारीले २–२ विकेट लिए।

प्लेयर अफ द म्याच सद्धावलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरेका थिए।

यसैगरी महिलातर्फको खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले चन्द्रमेवालाल स्कुललाई सहजै १० विकेट पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालालले १४.४ ओभरमा १० विकेटको क्षतिमा ४० रन बनाएको थियो।

कमजोर ब्याटिङ गरेको चन्द्रमेवालालका खेलाडीले ब्याटिङ गर्दा १४ रन मात्र जोडेका थिए। उनीहरुले २६ रन अतिरिक्त पाए। टोलीका लागि स्वतिका पाण्डेले बनाएको ६ रन नै व्यक्तिगत रुपमा खेलाडीले बनाएको धेरै रन थियो।

बलिङतर्फ प्लेयर अफ द म्याच बन्न सफल नेपालगन्ज मोडेलकी चमेली चौधरी र निरुपमा गिरीले २–२ विकेट लिए। जवाफमा नेपालगञ्ज मोडेलले ३.२ ओभरमा बिना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो। नेपालगञ्ज मोडेलका लागि अविजित रहँदैं तृष्णा सिंहले २१ र शोभा शाहीले ८ रनको योगदान दिइन्।

प्रतियोगिताअन्तर्गत मंगलबार पुरुषतर्फको खेलमा बिरता क्रिकेट क्लब र नेपालगञ्ज च्याम्प्सले प्रतिस्र्पा गर्नेछन् । महिला तर्फ होलिल्यान्ड बाल शिक्षाबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले बताए।