September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

रवि लामिछानेले लिए पुनः नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर लामिछानेले नागरिकता लिएको उनको सचिवालय जनाएको छ।

Advertisement

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै सांसद पद खारेज गरेको थियो।

Advertisement

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उनले २०५० साल फागुनमा काठमाडौँ जिल्ला प्रशासनबाट लिएको नागरिकता अवैध रहेको फैसला सुनाएको थियो।

लामिछानेले अमेरिका प्रवेश गरेपछि २०७० साल फागुन ९ गते त्यहाँको नागरिकता पाएका थिए। नागरिकता ऐन २०६३ को दफा १० (१) ले विदेशी नागरिकता पाएपछि नेपाली नागरिकता त्यागेको मानिने व्यवस्था गरेको छ। नेपाल फर्किएपछि २०७५ सालमा अमेरिकी नागरिकता त्यागे पनि नागरिकता ऐनको दफा ११ अनुसार पुनः प्राप्तिका लागि पूरा गरेका थिएनन्।

सर्वोच्चको फैसलापछि उनले सांसद पदका साथै उपप्रधान तथा गृहमन्त्री पद र राष्ट्रिष स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए। नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै रास्वपाले उनलाई आजै सभापति बनाउने तयारी गरेको छ।