नगरपालिकामा डिजिटल नागरिक बडापत्र


पाल्पा -कार्यालयबाट प्रवाह हुने सेवालाई व्यवस्थित गर्न पाल्पाको रामपुर नगरपालिकाले डिजिटल नागरिक बडापत्र स्थापना गरेको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र जडान गरेको हो ।
नगरपालिकाले कार्यालयबाट प्रवाह हुने सेवाको विस्तृत जानकारी सहितको डिजिटल बडापत्र राखेको छ । डिजिटल बडापत्रमा आफूले कुन सेवा लिन चाहेको हो त्यसको बारेमा विस्तृत रूपमा जानकारी राखिएको छ ।
बडापत्रमा कार्यालयबाट प्रवाह हुने ६० प्रकारका सेवा कसरी लिने, कहाँ लिने र आवश्यक कागजी प्रक्रियाको बारेमा जानकारी राखिएको छ । साथै डिजिटल नागरिक बडापत्र कसरी चलाउने भन्ने सञ्चालन विधि पनि राखिएको छ । सेवाग्राहीले सिधै आफूले लिन चाहेको सेवाको बारेमा आवश्यकता अनुसार स्वयम हेर्न सक्नेछन् ।
नगरभित्रका केही वडामा राखिएको र अन्य वडा कार्यालयमा पनि डिजिटल नागरिक बडापत्र राखिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।
उनले डिजिटल नागरिक वडापत्रमार्फत आफूले सेवा लिने स्थान र प्रक्रियाको विषयमा थाहा पाउन सजिलो हुने उल्लेख गरे । प्रविधिको युगसँगै सरल र सहज रूपमा आफूले लिन चाहेको सेवाको विषयमा सेवाग्राहीले जानकारी पाउन सजिलो होस् भन्ने उद्देश्यले डिजिटल नागरिक वडा पत्र राखिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।
प्रविधिको उच्चतम प्रयोगसहित डिजिटल नागरिक बडापत्र राखेसँगै हरेक सेवा लिँदा सेवाग्राहीलाई सहज हुने विश्वास उनले व्यक्त गरे । रामपुर नगरपालिकाको वडा नं. ४, ५ र ६ मा पनि डिजिटल नागरिक बडापत्र राखिएको छ ।

प्रतिकृया दिनुहोस्