April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

भैरहवामा पाँच दलीय गठबन्धनको चुनावी सभा (फोटोफिचर)

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँणले मुलुकबाट गरिबी हटाउने पाँच दलीय गठबन्धनको संकल्प भएको बताएका छन् । उनले मुलुकलाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा सम्पन्न गराएर आर्थिक समृद्धिको मार्गतर्फ अघि बढाए गरिबी पनि स्वत हट्दै जाने जनाए । पाँच दलीय गठबन्धनले बिहीबार भैरहवामा आयोजना गरेको चुनावी सभामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य खाँणले भने, ‘हिजो पंचायत र राजतन्त्र फाल्छौं भन्दा नपत्याउने शक्तिहरुले अहिले पनि गठबन्धनले केही गर्न सक्दैन भनेर प्रचार गरिरहेका छन् । गठबन्धनले बोलेको कुरा पूरा गर्छ, मुलुकलाई विकासको मार्गमा अघि बढाउँछ ।

Advertisement

उनले रोजगारी सिर्जना गर्दै सबै युवाहरुलाई स्वदेशमै बस्ने व्यवस्था गरिने दावी गरे । ‘निर्वाचनपछि गठबन्धनको सरकार बन्छ,’ उनले भने, ‘त्यो सरकारले जनताको अवस्था बदल्ने गरी विकास गर्छ । त्यसैले यसपटक विवेकपूर्ण तरिकाले मतदान गर्न जरुरी छ ।’ गठबन्धनको सरकार बनेमात्रै मुलुकको आर्थिक बिकास सम्भव हुने उनले बताए ।

Advertisement

‘रुपन्देहीका व्यवसायिका समस्या बुझेको छु,’ उनले भने, ‘चर्को व्याजदरले मर्का परेको छ, चुनाव सकिएपछि व्याजदर घटाएर राहत दिइनेछ ।’ सरकारको निर्देशन नटेरे राष्ट्र बैंकका पदाधिकारीबिरुद्ध कडा कमद चाल्ने उनले चेतावनी दिए । जिल्लाको कृषि क्षेत्रको बिकासका लागि सेमलारको कर्साघाटमा दुई अर्ब लगानीमा कृषि थोक बजार निर्माण हुन लागेको खाँणले बताए । ‘उक्त बजारका लागि चालु बजेटमा रकम विनियोजन भइसकेको छ,’ उनले भने, ‘अब छिट्टै काम सुरु हुन्छ । कृषि बजारको निर्माणले रुपन्देही, कपिलवस्तु र नवलपरासीका किसानलाई लाभ मिल्नेछ ।’

उनले सदरमुकाम भैरहवालाई अन्तर्राष्ट्रिय सहरका रुपमा विकसित गरिने दोहोर्याए । त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरेर आर्थिक केन्द्र बनाइने बताएका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलसँगैं भैरहवामा स्थलमार्गबाट धेरै पर्यटक भित्रिने बेलहिया नाका रहेको छ । ‘यहाँ रहेको बिशेष आर्थिक क्षेत्रको कार्यविधि परिवर्तन गरेर भए पनि क्षमता अनुसार सञ्चालनमा ल्याइनेछ,’ उनले भने, ‘नाका व्यवस्थित गर्न एकीकृत जाँच चौकी (आईसीपी)को निर्माण अगाडि बढाइनेछ ।’

यसका साथै व्यवस्थित सहर बनाउन सिद्धार्थ चक्रपथको निर्माण अगाढि बढाइने उनले बताए । ‘खानेपानी, बिजुली, नाला र सडकको अवस्था सुधार गरिनेछ,’ उनले भने, ‘पर्यावरणमैत्री, शिक्षा र स्वास्थ्यको हवका रुपमा बिकास गरिनेछ ।’ यहाँको शैक्षिक अवस्था सुधार्न स्तरीय विद्यालय सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने र त्यसमा सरकारले लगानी साझेदारी गर्ने बताए ।

‘भैरहवा आसपासका ओमसतीया र मायादेवी गाउँपालिकालाई सहरमा स्तरोन्नती गर्नेगरि बिकासमा योजना ल्याइनेछ,’ उनले भने, ‘ती गाउँपालिकामा सबैलाई बाटोघाटो, बिजुली र खानेपानीको सुविधा पुर्याइने छ ।’ भैरहवामा रहेको सिद्धार्थ क्रिकेट रंगशालाको स्तरोन्नतीको काम तत्काल पूरा गरेर अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गरिने उनको भनाई थियो । ‘गाउँ–सहरको बिकासका लागि स्थानीय र प्रदेश सरकारसित समन्वय गरिनेछ,’ उनले भने, ‘मुलुकमा स्थिर बिकासका लागि गठबन्धन निर्माण भएको हो ।’ सांसद चुनिनका लागि मात्र यो गठबन्धन नभएको उनले बताए ।

रुपन्देही ३(१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्षौपछि रुपन्देहीले राष्ट्रिय नेता पाउन लागेको उल्लेख गर्दै प्रतिनिधिसभा उम्मेदवार खाँणलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरे । ‘पाँच वर्षमा एकपटक जिल्ला आएर मतदातालाई भोट हाल्न निर्देशन दिने नेताका दिन सकिए,’ बिहीबार आमसभामा बोल्दैं उनले भने, ‘अब रुपन्देहीले प्रधानमन्त्री प्राप्त गर्दै छ । प्रधानमन्त्रीको सम्भावना बोकेको व्यक्ति बालकृष्ण दाइ हो ।’

खाँणकै नेतृत्वमा काठमाडौंपछि भैरहवा दोस्रो अन्तराष्ट्रिय सहर बन्ने बताए । जनताको मत बिना टिका लाएर मन्त्री बनाउने जमाना उहिल्यैं सकिएको जनाउँदै विपक्षी दलका उम्मेदवारलाई मुुलुकमा गणतन्त्र आएको हेक्का राख्न अनुरोध गरे । ‘वर्षमा एकपटक त भ्यागुत्तो पनि आउँछ, भ्यागुत्तो आएर कराएपछि वर्षा लाग्यो भन्ने जानकारी हुन्छ,’ उनले भने, ‘हाम्रो विपक्षी उम्मेदवार पाँच वर्षमा आउनु हुन्छ, एयरपोर्टमा उत्रिएपछि डायरीमा नम्बर हेरेर रैती जस्तो जनतालाई फोन गरेर आदेश दिनुहुन्छ ।’

क्षेत्र नम्बर ३(२) का उम्मेदवार रामचन्द्र ढकालले लोकतन्त्र रक्षाका लागि गठबन्धनलाई जिताउनु पर्ने बताए । उनले बहुदल र राजतन्त्र फाल्न गरिएको आन्दोलन दवाउन लागेकाहरु नै अहिले उम्मेदवार भएको भन्दै त्यस्तालाई जनताले चिनेर पराजित गर्नु पर्ने बताए । उनले रुपन्देहीको विकासका लागि गठबन्धनले जित्नु पर्ने र त्यसको नेतृत्व बालकृष्ण खाँणले गर्ने जनाए । कार्यक्रममा बोल्ने नेताहरुले अहिलेको निर्वाचन प्रतिगमनकारी र अग्रगमनकारीबीच भएकाले अग्रगमनका पक्षधरलाई जिताउन आग्रह गरेका थिए । आमसभा अघि बुद्धचोकबाट बृहत् र्याली निकालिएको थियो ।