April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

६ किलोभन्दा बढी लागुऔषधसहित ४ जना पक्राउ

दाङ- दाङमा ६ किलोभन्दा बढी लागुऔषधसहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ परेका छन्। असोज २ गते साँझ करिब साढे ६ बजे लमही- ९ अमिलियाबाट दुई महिलालाई लागुऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ।

Advertisement

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ की ४० वर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका- ६ कोटगाउँ घर भई हाल घोराही उपहानगरपालिका- १३ सेवार बस्ने ३८ वर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर रहेका छन्।

Advertisement

उनीहरूको साथबाट प्रहरीले ६ किलो ३६० ग्राम चरेस बरामद गरेको छ। तुलसीपुरबाट भारतको दिल्लीतर्फ जाँदै गरेको ना ७ ख ९०५ नम्बरको बसबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

भारततर्फ चरेस लगिँदै गरेको सूचनाका आधारमा बसमा सवार ती दुई महिलालाई प्रहरीले खानतलासी गरेको थियो। प्रहरीले खानतलासी गर्दा उनीहरूले आफ्नो दुईवटै खुट्टाको साप्रामा चरेस बाँधेर लुकाएको अवस्थामा फेला पारेको थियो।

त्यस्तै, प्रहरीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका- १ कालाकाटेबाट लागुऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका- १० जगदीशपुरका २५ वर्षीय हिरासिंह क्षेत्री र वाणगंगा नगरपालिका- ११ निवासी १८ वर्षीय मोहम्मद खान रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ११३ दशमलव ४६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ। साथै प्रहरीले उनीहरू सवार लु ६८ प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकलसमेत बरामत गरेको छ।

पक्राउ परेका ४ जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ।