September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

बर्दिया अस्पताल उत्कृष्ट

बर्दिया– बर्दिया अस्पताल मुलुकभरिका अस्पतालमा उत्कृष्ट भएको छ । न्यूनतम मापदण्ड र सम्पादनका आधारमा ९५ अंक ल्याएर प्रथम भएको हो । न्यूनतम मापदण्ड सेवामा देशभरिका ५० बेड क्षमताका अस्पतालमा बर्दिया प्रथम भएको मूल्यांकन टिमका प्रमुख भेरी अस्पताल नेपालगन्जकी दुर्गालक्ष्मी श्रेष्ठलेसार्वजनिक गरेकी हुन् ।

‘स्वास्थ्य सेवा, सरसफाइ, व्यवस्थापन, इमर्जेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशालालगायत बेरुजुसमेत नदेखिएकाले अस्पताल उत्कृष्ट भएको हो,’ उनले भनिन्, ‘जनशक्तिको अभावमा पनि अस्पतालले गरेको सेवा प्रभावकारी र सन्तोषजनक छ ।’ गएका दुई वर्ष बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै प्रथम भएको थियो ।

सुत्केरी र शल्यक्रियामा यस अस्पतालले बर्सेनि २ हजार बढीलाई सेवा दिंदै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतमले मुलुकमै न्यूनतम सेवा मापदण्डमा पहिलो हुनु सामान्य नभएको बताए । ‘यहाँका चिकित्सकलगायत टिम, आमनागरिकले गरेको सहयोगबाट नै यो सफलता मिलेको हो,’ उनले भने, ‘अस्पतालमा जनशक्तिको अभावका बाबजुद स्वास्थ्य सेवामा गरेकोे सेवा प्रवाह सन्तोषजनक रहेको छ ।’ विशेषज्ञ जनशक्ति र उपकरणको अभावमा पनि बिरामीलाई सेवा दिंदै आएको बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले बताए ।

Advertisement