September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

सामूहिक स्मरण खेल प्रतियोगिताः छात्रतर्फ खान र छात्रातर्फ कुर्मी प्रथम

भैरहवा– सामूहिक विद्यालय परिवार, रुपन्देहीद्वारा आयोजित स्मरण (मेमोरी) खेल प्रतियोगितामा छात्रतर्फ मनकामना बोर्डिङ हाई स्कुलका अबसोज खान प्रथम भएका छन् । यस्तै, छात्रातर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम भएकी छन् ।

Advertisement

शुक्रबार भैरहवामा आयोजित प्रतियोगितामा कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । ४० ओटा फरक–फरक वस्तुहरु राखेर विद्यार्थीहरुलाई पहिचान गर्न लगाइ उनीहरुको स्मरण जाँच गरी प्रथम, द्वितिय, तृतिय र सान्त्वना छनोट गरिएको थियो ।

प्रतियोगितामा छात्रतर्फ सनलाइट बोर्डिङ स्कुलका अनिस चौधरी द्वितिय, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तृतिय र युनिकहोम्स् स्कुलका आयुसेक घर्ती सान्त्वना भएका छन् । त्यस्तै, छात्रातर्फ मिनर्वा हाई स्कुलकी लिजा गुरुङ द्वितिय, मनकामना हाई स्कुलकी सरिना क्षेत्री तृतिय र एभरेष्ट मोर्डन स्कुलकी प्रियंका जैसवाल सान्त्वना भएकी छन्् । विजेता खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका–१ का अध्यक्ष उज्जवल पोखरेलले यस्ता किसिमका अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई योग्य र क्षमतावान बनाउन सहयोग पुग्ने जनाए । उनले विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर रुपमा समूहिक विद्यालय परिवारले यस्ता गतिविधि गर्नुपर्नेमा उनको जोड छ ।

परिवारका अध्यक्ष उदयकुमार मल्लिकले स्मरण खेलले विद्यार्थीलाई सम्झने सक्ने क्षमताको विकास गर्ने विश्वास व्यक्त गरे । उनले मानिसको सर्ट स्मरण र लङ स्मरण मध्ये सामूहिकले आयोजना गरेको खेल सर्ट मेमोरी भएको बताउँदै विद्यार्थीहरु हरेक क्रियाकलापमा सक्रिय हुनु पर्ने बताए ।

परिवारका पूर्वअध्यक्ष राजकुमार गुरुङले मानिसको स्मरण शक्ति भएकाले सर्वश्रेष्ठ प्राणि भएको बताउँदै विद्यार्थीहरुले लगनशील भएर अध्ययन गर्नु पर्ने बताए । अध्ययन गर्ने विद्यार्थीमा स्मरण क्ष्मता पनि बढी हुने हुँदा त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे । प्रतियोगितामा १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थीहरु सहभागी थिए । सामूहिक विद्यालय परिवार रुपन्देहीमा १८ विद्यालय आबद्ध छन् । प्रतियोगितामा यसमध्ये १७ विद्यालयले सहभागिता जनाएका थिए ।