December 5, 2024, Thursday
२०८१ मंसिर २०

पशु सेवा विधेयक सच्चाउन माग

भैरहवा– प्रतिनिधिसभाले अघि बढाएको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक त्रुटीपूर्ण रहेको भन्दै देशभरका पशु चिकित्सक आन्दोलित छन् ।

एसइई उत्तीर्ण गरी तीन वर्षको पशुविज्ञान अध्ययन गरेका तथा एसइईसमेत उत्तीर्ण नगरेका व्यक्तिलाई पशु चिकित्सकसरह अधिकार पाउने गरी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक अघि बढाएको भन्दै पशु चिकित्सक आन्दोलित भएका हुन् ।

Advertisement

विरोध स्वरुप नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश समितिले बुटवलमा विरोध र्याली निकालेको छ । अस्पताल लाइनबाट सुरु भएको र्याली मिलनचोक हुँदै चौराहामा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै समितिका सचिव डा. युवराज पन्थले विज्ञ र प्राविधिकबीच सामान्य भिन्नता समेत नदेखिने गरी विधेयक अगाडि बढाएकोले बिरोध गर्नुपरेको बताए ।

यो विधेयक दुवै सदनबाट हुबहु पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भए पशुपन्छीको शल्यक्रिया, सम्पूर्ण उपचार, पोस्टमार्टमलगायत सबै अधिकार प्राप्त गर्न भेटेरिनरी चिकित्सकको योग्यता आवश्यक नपर्ने पन्थले बताए ।

‘पशु स्वास्थ्य प्राविधिकलाई चिकित्सक सरहको अधिकार दिने नेपाल संसारकै पहिलो मुलुक हुनेछ’, उनले भने । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको बैठकबाट गएको मंगलबार पारित भएको छ ।