December 10, 2024, Tuesday
२०८१ मंसिर २५

निष्कर्ष बिना टुंगियाे माओवादी स्थायी कमिटी बैठक

महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन।

पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरूप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ।

Advertisement

बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति छ।

महासचिवको चयनलाई लिएर पार्टीभित्र सङ्घर्ष बढेको नेताहरुको भनाइ छ। महासचिवमा स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माको दाबेदारी रहेको बताइएको छ।

गत पुसमा आठौँ महाधिवशेन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न सकेको छैन। केही दिनअघि बसेको बैठकले ४१ सदस्यीय स्थायी समिति, एकसय २५ सदस्यीय पोलिटब्यूरो र तीनसय ७५ सदस्यीय केन्द्रीय समितिको टुङ्गो लगाएको थियो।

पदाधिकारीलगायत साङ्गठनिक संरचनालाई पूर्णता दिने भन्दै बिहीबार बिहान बोलाइएको बैठक बस्न नसकेपछि पुनःअपराह्न ४ बजेका लागि तय गरिएको थियो।

अपराह्न ४ बजे पुनःबैठक बस्न नसकेपछि साँझ ६ बजेका लागि बोलाइएको थियो। प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफल र मतदान जारी रहेकाले शीर्ष नेतालगायत स्थायी समितिका सदस्य व्यस्त भएको भन्दै अन्तिम अवस्थामा बैठक आज बिहान बस्ने गरी स्थगन भएको थियो।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक पनि पदाधिकारी चयनको विषयमा अनिर्णीत बनेको छ। नेता कृष्णबहादुर महराले पुनःभोलि १ बजे बस्ने बैठकले पधिकारीलाई अन्तिम रूप दिने जिकिर गरे।

‘आज स्थायी समितिको बैठक बस्यो, पदाधिकारी र पार्टी कार्यक्रमका विषयमा विस्तृत छलफल भयो’, पदाधिकारीसम्बन्धी छलफलका विषय बाँकी नरहेको जानकारी दिँदै उनले भने, ‘भोलि अपराह्न १ बजे बस्ने बैठकबाट टुङ्गो लाग्छ।’

पदाधिकारी चयनका विषयमा पार्टीभित्र निकै गहन छलफल भएको उनको भनाइ छ।

‘विवादका कारण पदाधिकारी चयन गर्न नसकिएको भन्ने होइन’, नेता महराले भने, ‘पदाधिकारी चयन तथा कार्यक्रमका बारेमा विस्तृत र गम्भीररूपमा छलफल भएको छ। अब छलफल गर्न बाँकी विषय छैनन्, भोलि अपराह्न १ बजे बस्ने बैठकले अन्तिमरूप दिन्छ।’