December 5, 2024, Thursday
२०८१ मंसिर २०

यस्ता छन् लुम्बिनी सरकारका निर्णयहरू

बुटवल– लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा संचारमन्त्री तिलकराम शर्माले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी ऐन, २०७४ को अनुसूची २ मा हेरफेर गर्ने निर्णय गरेको जनाए ।

यस्तै, मन्त्रिपरिषद बैठकले प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन (तेस्रो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए । यस्तै, लुम्बिनी प्रदेशमा विभिन्न क्षेत्रका विज्ञ थप गर्न लागिएको उनले जनाए । यसका लागि मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय भएको उनको भनाई छ । शर्माका अनुसार प्रदेश निर्माण, लगानी सम्मेलन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विज्ञको आवश्यकता परेको हो ।

जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरुको सेवासुविधा निर्धारण गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिए । आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले तयार गरेको हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७९ पनि स्वीकृत गरिएको छ । बैठकले लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को संगठन संरचना र दरबन्दी पनि स्वीकृत गर्ने निर्णय गरेको । यस्तै, आइसोलेसन अस्पतालहरुको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद यही भदौ मसान्तसम्म थप्ने निर्णय भएको प्रवक्ता शर्माले बताए ।