September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

रोटरी सेन्ट्रल लुम्बिनीको पदस्थापनः समाजसेवालाई प्राथमिकतामा राख्न सुझाव

भैरहवा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन समारोह सम्पन्न भएको छ । भैरहवामा आयोजित कार्यक्रममा वर्ष २०२२–२०२३ का नवनिर्वाचित नयाँ कार्यसमितिको पदास्थापन गरिएको हो ।

Advertisement

पदस्थापन समारोहमा बोल्दै रोटरीका डिष्ट्रिक गभर्नर इलेक्ट राजेन्द्रप्रसाद ध्वजूले रोटरी क्लबको मूल मन्त्रलाई आत्मसाथ गर्दै हरेक सदस्य सेवाभावमा लाग्नुपर्ने बताए । उनले सामाजिक भावना भएको व्यक्तिहरु रोटरी क्लबमा जोडिन सक्ने बताउँदै निम्न वर्ग र निमुखाहरुलाई रोटरी क्लबले सधै प्राथमिकता दिएर सहयोग गर्ने जनाए ।

‘रोटरीको मूल भाव नै समाजिक सेवा हो’, उनले भने, ‘त्यसैले समाज रुपान्तरण र सेवाभावमा क्लबका सबै सदस्यहरु लाग्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’ उनले हरेक रोटरीयनहरुले समाजलाई सहीमार्गमा डोर्याउन कुनै न कुनै माध्यमबाट काम गर्नु पर्नेमा जोड दिए ।

बरिष्ठ अधिवक्ता तथा क्लबका २०२२–२०२३ का अध्यक्ष शिवप्रसाद गौडेलले आफ्नो कार्यकालमा समाज सेवालाई थप प्रभावकारी बनाउने जनाए । उनले सबै सदस्यको मनोभावना बुझेर अघि बढ्ने बताउँदै आफ्नो कार्यकाल समाजसेवामा नै समर्पित गर्ने प्रतिबद्धता जनाए । सबै सदस्यहरुको ज्ञान, सिप, धन, शक्ति र उपस्थितिमा क्लबले समाजसेवा गर्ने उनको भनाई छ ।

क्लबका २०२१–२०२२ अध्यक्ष डा.शतदल चौधरीले आफ्नो कार्यकालमा रोटरीको मूलमन्त्रलाई आत्मासाथ गर्दै समाजिक क्षेत्रमा अधिकतम काम गरेको बताए । उनले आउँदा दिनहरुमा पनि क्लबलाई थप उचाईमा पुर्यान लागि पर्ने जनाए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, रोटरियनहरु सन्तोष रिजाल, एजाज आलम, राजेन्द्र लम्साल, राजु खनाल, पूर्व अध्यक्ष कृष्ण पाण्डे, तुलसा भुसाल लगायतले बोल्दै सामाजिक क्षेत्रमा काम गरेर सेन्ट्रल लुम्बिनीलाई अब्बल क्लब बनाउन आग्रह गरेका थिए । उनीहरुले मन, वचन र कर्मले काम गरे नयाँ कार्यसमितिको कार्यकाल सम्झन लायक हुने जनाए । उनीहरुले सकारात्मक सोचका साथ दिनदुखी सहयोग र सामाजिक क्षेत्रमा लाग्न क्लबका सदस्यहरुलाई अनुरोध गरे ।

क्लबको उपाध्यक्षमा रामबहादुर कोइरी, सचिवमा विना भण्डारी र कोषाध्यक्षमा बासु बडाल लगायत छन् । कार्यक्रम संयोजक प्रियाबन्दु न्यौपानेको धन्यवाद ज्ञापन, कृष्ण अधिकारीको स्वागत तथा विना भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सामाजिक सेवाभावले स्थापित रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी स्थापना भएको छ वर्ष पूरा भएको छ । क्लबमा ६० जना सदस्य छन् ।