September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

गुरुङमाथि प्रहार भएको थियो दुई गोली, दोषी नजिक प्रहरी

भैरहवा– सिद्धार्थनगर नगरपालिका–१, बेलहिया विकास गुरुङमाथि भएको गोली प्रहारमा अनुसन्धानको घेरा सांगुरिँदै गएको प्रहरीले जनाएको छ । ‘हामीले घटनामा संलग्नलाई छिट्टै कानूनी दायरामा ल्याउँछौं’, रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले भने, ‘अनुसन्धान सांगुरिँदै गएकको छ । चाँडै नै घटनामा संलग्नलाई सार्वजनिक गर्छौं ।’ यसको अर्थ प्रहरी घटनामा संलग्नको नजिक पुगेको छ ।

Advertisement

जिल्लाको ओमसतिया अज्ञात समूहले गोली प्रहार गर्दा सिद्धार्थनगर–१, वेलहिया घाइते भएका छन् । आइतबार राति करिब ११ बजे उनीमाथि ओमसतिया गउँपालिका–४ बसन्तपुरमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । घाइते गुरुङको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको किर्टिकल आईसीयूमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार तत्काल गुरुङको अवस्थामा मध्यम छ । यद्यपि उनको वायाँ कोखमा दुई गोली लागेको छ । गोली निकाल्नका लागि शल्यक्रियाको तयारी भइरहेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । रुपन्देही प्रहरी स्रोका अनुसार गोली प्रहारमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ‘हामी अनुसन्धानमै छौं तर वास्तविकता पत्ता चाँडै लाग्छ’, एसपी रेग्मीले भने । स्रोतका अनुसार अज्ञात समूहले रोहिणी गाउँपालिका–१ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको बसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि लुटपाट गर्ने समूहले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसरा बेलहिया निवासी गुरुङ परासीस्थित ससुराल बस्दै आएका थिए । उनी राति ससुराली घर जाँदै थिए । अज्ञात समूहले उक्त कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताइएको छ ।

मोटरसाइकल स्लो गरेर गोली हानेः गुरुङ
भैरहवास्थित मेडिकल कलेजको किर्टिकल आईसीयूमा उपचाररत गुरुङले कटेजमा होहल्ला भएको थाहा पाएपछि आफूले मोटरसाइकल स्लो गरेको र त्यहीबेला आफूमाथि गोली प्रहार भएको बताए । ‘मलाई गोली प्रहार गर्ने व्यक्ति दुईवटा मोटरसाइकलमा थिए, एउटा २२० सीसीको पल्सरमा तीन जना र अर्कोमा दुई जना थिए, मैले मोटरसाइकल स्लो गरेरका बेला गोली हाने’, उनले भने ।

उनले आफूलाई मोटरसाइकल नम्बर थाहा नभए पनि दुई मोटरसाइकल नेपाली नम्बर भएको बताए । ‘होहल्ला पछि मैले मोटरसाइकल स्लो गरेँ, उनीहरुले पनि स्लो गरे, त्यसपछि म केही अघि बढे र पुनः मोटरसाइकल स्लो गरेँ’, उनले भने, ‘त्यसपछि उनीहरुले पनि मोटरसाइकल स्लो गरे र गोली हाने ।’ उनले आफूलाई गोली लागेको रगत बगेपछि मात्र बल्ल थाहा पाएको जनाए ।