September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

उपमहानगरको न्यायिक समितिमा ६ वटा विवाद निरुपण

बुटवल– बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले विवाद निरुपणका कार्यलाई अगाडि बढाएको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि न्यायिक समितिमा २० वटा विवाद दर्ता भएका थिए । त्यस मध्ये ६ वटा विवाद निरुपण गरिएको छ ।

Advertisement

उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले ६ वटा विवाद निरुपण गरेको र १४ वटा प्रक्रियामा रहेको जानकारी दिइन् । न्यायिक समिति संयोजक अर्यालका अनुसार ७ वटा इजलास र २ वटा न्यायिक समितिको बैठक बसेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (१) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट २ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।

Advertisement

चालु आर्थिक वर्षमा ३ वटा मुद्दा दर्ता भएका छन् भने एउटा मुद्दाको फैसला भएको र ४ वटा मुद्दा चालु अवस्थामा रहेको संयोजक अर्यालले जनाइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) अन्तर्गत अघिल्लो आर्थिक वर्षबाट ९ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।

न्यायिक समितिमा सबैभन्दा बढी जग्गा, सार्वजनिक बाटोसम्बन्धी विवाद आएका छन् । यस्तै श्रीमान् श्रीमतीबीचको विवादलाई श्रीमतीलाई खानलाउन र बालबच्चालाई शिक्षादिक्षाको व्यवस्था मिलाउने गरी मेलमिलाप गराएको न्यायिक समिति संयोजक अर्यालले जानकारी बताइन् ।

संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निर्णय गर्न सक्ने व्यवस्था छ ।