पाल्पामा ६६ सय ७० नयाँ मतदाता थपिए
पाल्पा– गत असार १ गतेदेखि साउन १९ गतेसम्म पाल्पामा ६ हजार ६ सय ७० नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय रामपुरबाट फोटोसहितको थप मतदाता नामावली संकलन गरिएको हो ।
फोटोसहितको मतदाता नामावलीमा उल्लेख्य संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाभरि १ लाख ९९ हजार ६ सय ९० मतदाता रहेका थिए । अहिले थपिएर २ लाख ६ हजार ३ सय ६० मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत अर्यालले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ हजार १ सय ४० महिला र ३ हजार ५ सय ३० पुरुष थपिएका हुन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा निर्वाचन घोषणा गरेसँगै साउन २० गतेदेखि मतदाता नामावली संकलन रोकिएको छ ।
स्थानीय तहको निर्वाचनसम्म करिव १० हजार मतदाताको १८ वर्ष उमेर नपुगेका कारण अन्तिम मतदाताको सूचीमा नाम समावेश भएको थिएन । तसर्थ, थप १० हजारमध्ये १८ वर्ष उमेर पुगी अन्तिम मतदाताको सूचीमा कायम हुनेको विवरण आयोगबाट भदौ ७ गते थाहा हुने निर्वाचन अधिकारी अर्यालले बताए ।
प्रतिकृया दिनुहोस्