December 10, 2024, Tuesday
२०८१ मंसिर २५

सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन लागिरहेको छः मन्त्री कुँवर

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन्।

सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा गरेको छलफलमा मन्त्री कुँवरले यस्तो बताएका हुन्।

Advertisement

उनले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको सुरक्षा, पारिश्रमक र काम गर्न जाने देशको कानून श्रमिकको हितमा भए/नभएको अध्ययन गरेर श्रम सम्झौता गर्ने वातावरण बनाउनुपर्ने बताए।

मन्त्री कुँवरले नेपालले सबैभन्दा पहिला शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उद्यमसँग र उद्यमलाई रोजगारीसँग जोड्न सके मात्रै श्रम क्षेत्रलाई व्यवस्थित गर्नसक्ने दाबी गरे। उनले नेपाली श्रमिक विदेशमा कुनै सीप क्षमता बिना वैदेशिक रोजगारीमा गइरहेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले सीप र क्षमता विकास गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित गर्न लागिरहेको छ। कुनै सीप र क्षमता बिना विदेशमा श्रम गर्न गइरहेका हुन्छौँ। सीपको क्षमता विकास गर्ने कुरामा ध्यान दिनुपर्छ। नेपाली श्रमिक सीप क्षमता भएर दक्ष हुँदा श्रम मर्यादित र मजदुरले पाउने पारिश्रमिक पनि राम्रो हुन्छ। श्रमिकको सुरक्षाको विषयमा पनि महत्वपूर्ण हुन्छ।’

मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जानुभन्दा पहिला तलब सुविधामा सम्झौता गर्ने र हवाइजहाज चढेपछि सम्झौता च्यात्ने प्रवृतिले नेपाली मजदूर ठगिएको भन्दै सरकारले त्यस्तो कार्य रोक्ने बताए।

उनले सरकारले वैदेशिक रोजगारमा जाने मजदुरको श्रमलाई मर्यादित बनाउने बताए। मन्त्री कुँवरले नेपालको वैदेशिक रोजगारीमा जाने प्रक्रिया लामो भएको गुनासो आएकाले लामो प्रक्रियालाई सहज बनाउन मन्त्रालय समयानुकुल ऐन कानूनहरु परिमार्जन गर्ने तयारीमा रहेको बताए।