December 5, 2024, Thursday
२०८१ मंसिर २०

नगरपालिकाद्वारा श्रीनगरको व्यवस्थापन

भैरहवा– पाल्पाको श्रीनगर डाँडालाई पर्या पर्यटन गन्तव्यका रुपमा बिकास गर्न थालिएको छ । यसअघि विभिन्न ठेक्का मार्फत उक्त डाँडामा पर्यटकीय गतिविधि सञ्चालन भइरहेका थिए ।

अब तानसेन नगरपालिकाले आफै जिम्मा लिएर यसको व्यवस्थापन गर्ने जनाएको हो । खानेपानी व्यवस्थापन, श्रीनगर क्षेत्रको गुरुयोजना निर्माण, सरसफाइ, वृक्षरोपण, होर्डिङ बोर्ड व्यवस्थापन, रुखमा रंग लगाउने, पार्किङ व्यवस्थापनलगायतका काम अघि बढाइएको तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए ।

Advertisement

तानसेन आउने पर्यटक एकपटक श्रीनगर पुग्न खोज्छन् । यहाँबाट उत्तरतर्फ सबैभन्दा लामो रेन्जमा हिमाल देख्न सकिन्छ । श्रीनगर पुग्ने जोकोहीले कुनै पनि सुविधा नपाएको गुनासो गरेपछि नगरपालिका आफैं व्यवस्थापनमा अघि बढेको प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेयले बताए ।

तानसेन नगरपालिकाले बर्सेनि श्रीनगर क्षेत्रबाट कम्तीमा १० लाख घाटा बेहोर्दै आएको छ । अब यसको दिगो व्यवस्थापन गर्दा १० लाख नाफा हुने अपेक्षा नगरपालिकाको छ ।