July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

तिलोत्तमा नगरपालिकाको घटनाबारे गृहमन्त्रीको जवाफ माग

भैरहवा- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाएका हुन् । 

सांसद भट्टराईले प्रहरीको शासन चलाउन खोजेको हो ? भनेर गृहमन्त्रीलाई प्रश्न गर्दै गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराएको आरोप लगाए । वडाध्यक्षलाई पोखरीमा चोबल्ने डिएसपीलाई कारबाही गर्न पनि उनले माग गरेका छन् ।

सांसद भट्टराईले भने, ‘म नामै लिन चाहन्छु, डिएसपी ठगबहादुर केसीले त्यहाँको वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई घोक्र्याएर पोखरीमा चोबलेको छ । यही हो लोकतन्त्र ? गणतन्त्रलाई स्थापित गर्छ यस्तै व्यवहारले ? लोकतन्त्रको सुन्दरता भनेकै बहशबाट निस्कर्षमा पुग्ने पद्धती हो । विवादहरु हुन सक्छन् । छलफल हुन सक्छ । कहिलेकाहीँ चालु बैठकलाई रोक्नुपर्ने हुन सक्छ । लोकतन्त्रमा त्यसो गरिन्छ कि पुलिस लगाएर शासन गर्ने कोशिस गरिन्छ ? गृहमन्त्रीको भाई त्यहाँ मेयर हुनुहुन्छ । गृहमन्त्रीज्यूको अण्डरमा पुलिस छ । अनि पुलिस लगाएर शासनको दम्भ देखाउने । अहिलेको गठबन्धनको यो दिग्विजय हो ? गृहमन्त्रीज्यूले त्यहाँको डिटेल रिपोर्ट यो सदनमा पेस गर्नुपर्छ ।  डिएसपी कारबाहीमा पर्छ कि पर्दैन ? हामी हेर्न चाहन्छौँ ? र गृहमन्त्रीले के भन्नुहुन्छ ? उहाँको जवाफ आओस् भनेर म जवाफ माग गर्न चाहन्छु ।’

Advertisement