रुपन्देहीमा राष्ट्रिय सेवा दल तालिम सुरु
भैरहवा– राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । तालिममा रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा सहभागी भएको गरुण दल गण, बुटवल, रुपन्देहीका गणपति रामकृष्ण श्रेष्ठले बताए ।
‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो । रुपन्देहीको सैनामैनाको श्री सैनामैना पर्रोहा परमेश्वर माबि, तिलोत्तमाको मणिग्रामस्थित श्री शान्ति नमुना माबि तथा भैरहवाको बृहष्पति माबिका छात्रछात्रा तालिममा सहभागि छन् ।
तालिममा रहेका तीन वटै विद्यालयका छात्रछात्रालाई उनीहरु अध्ययनरत रहेकै विद्यालयमा संस्थागत तालिम दिइनेछ । तालिम अबधि १ सय दिनको हुने र त्यसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामूहिक क्याम्प सञ्चालन हुने श्रेष्ठले उल्लेख गरे ।
तालिममा छात्रछात्राहरुलाई एफसी, बीसी, म्याप रिडिङ, बिपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेलका साथै एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने गणपति श्रेष्ठले बताए । तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नै राष्ट्रिय सेवा दल एनसीसी गठन भएको उनले बताए । अनुशासित नागरिक बनाउन यसले मद्दत पुग्ने, देशमा प्राकृतिक बिपद तथा संकट तथा उद्धारमा सहयोग हुने श्रेष्ठको भनाई छ ।
बृहष्पति बिद्यालयमा भएको तालिमको उदघाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अहिले समाजमा अनुशासनको कमि देखिएको भन्दै समाजलाई अनुशासित बनाउन तालिमले मद्दत पुर्याउने र कुनै प्राकृतिक बिपत्ति पर्दा उद्धारका लागि सहयोग हुने खालको यो तालिम भएकाले लगाव राखी सिक्नु पर्ने बताए ।
तालिममा बृहष्पति माबिका बद्रि बिशाल गुप्ता लगायतले मन्तब्य राख्दै यो तालिम अतिनै महत्वपूर्ण रहेको र अनुशासित तथा सहयोगी भावनाको बनाउन मद्दत पुग्ने जनाए । कार्यक्रममा रुपन्देही प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी, रुपन्देहीका सशस्त्र प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक गगन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख, डिफेन्स रिपोर्टर मनोरञ्जन शर्मा लगायतको उपस्थिति थियो ।
कार्यक्रमको संचालन उप सेनानी मेरीसा बिष्टले गरेकी थिइन् । राष्ट्रिय सेवा दलले २०७० सालसम्म ५ सय छात्रछात्रा गरी १ हजार जना, ०७१–७२ मा ६ सय जना, २०७२–७३ मा २ हजार जना, ०७३–७४ मा ४ हजार जना, ०७६–७७ मा ७ हजार ७ सय जना र ०७८–७९मा ७ हजार ७ सय गरी जम्मा ७९ हजार ३२ जना देशैभरका छात्रछात्रालाई तालिम दिई दिक्षान्त गरिसकेको गरुणदल गणका जेष्ठ सेनानी सुरज रिमालले बताए ।
प्रतिकृया दिनुहोस्