December 4, 2024, Wednesday
२०८१ मंसिर २०

तिलोत्तमाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेको तालाबन्दी

तिलोत्तमा– नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । तिलोत्तमाको १२ औं नगर सभाको तेस्रो र चौथो बैठकमा ज्ञवालीले नेपाली कांग्रेससँग मिलेर एमालेका जनप्रतिनिधिहरुप्रति पक्षधरता देखाएकाले उनको कार्यकक्षमा तालाबन्दी गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । चौधरी एमालेबाट उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

ज्ञवालीमाथि आइतबार नगरसभामा उपस्थित एमालेका केही जनप्रतिनिधि र कांग्रेसका जनप्रतिनिधिको हाजिर नगराई बैठकका लागि गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गराउन भूमिका खेलेको एमालेका जनप्रतिनिधिहरुको आरोप छ ।

Advertisement

‘एमालेका जनप्रतिनिधिको उपस्थिति पुस्तिका नै गायब पारेर प्रमुख प्रशासकीय अधिकृतले कांग्रेसबाट निर्वाचितको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसाबले अब उनी स्वीकार्य छैनन्’, चौधरीले भनिन्, ‘जनप्रतिनिधिहरुप्रति विभेद गरी काँग्रेसको कार्यकर्ताले जस्तै काम गरेपछि बाध्य भएर हामीले तालाबन्दी गरेका हौं ।’

आइतबारको नगरसभा बैठकमा एमालेबाट निर्वाचित ४२ जना नगरसभा सदस्यको हस्ताक्षर गराएपछि प्रमुख प्रशासकीय अधिकृतले अरु नगरसभा सदस्यको हस्ताक्षर नगराई गणपूरक संख्या नपुगेको देखाएको एमालेको आरोप छ । नगरप्रमुख रामकृष्ण खांणले नगरसभा सुरु भएको घोषणा गर्दा एमालेका ४२ जनाको उपस्थिति गरेको माइन्युट अनधिकृत ब्यक्तिमार्फत लुकाउन खोज्दा नियन्त्रणमा लिइएको उनले बताइन् ।
शुक्रबार बसेको तेस्रो बैठकमा ८९ जना उपस्थित भए पनि नगरप्रमुख खांण बाहेक ८८ जनाले हस्ताक्षर गरेका थिए । तर नगर प्रमुख खाणले आफू निकटका ४१ जना जनप्रतिनिधिलाई मात्र फर्जी उपस्थिति पुस्तिकामा हस्ताक्षर गराएर गणपूरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ ।

नगर प्रमुख खाण नगर सभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहे पनि एमालेका जनप्रतिनिधिले भने बजेटसँगै न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने भएकोले यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिँदै आएका छन् । जसले गर्दा तिलोत्तमाको बजेट पारित हुन सकेको छैन । विवाद झनपछि झन चर्किंदै गएको छ ।