पाल्ला पूर्ण खोप सुनिश्चित जिल्ला
पाल्पा– पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य डा.पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पाल्पालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।
लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले पाल्पाले प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला भएर नमुना काम गरेको जनाएको छ । बज्राचार्यले पाल्पाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए–नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले जिल्ला पूर्ण खोप घोषणा गरेको बताए ।
बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएअनुसार पाल्पा पूर्ण खोप सुनिश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जानकारी दिए ।
परिवार कल्याण महाशाखा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि शिव पौडेल र वसन्त श्रेष्ठले जिल्लाले गरेको कामको अनुगमनपछि घोषणाका लागि अनुमति दिएको बताए । १० स्थानीय तहका ८१ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए ।
प्रतिकृया दिनुहोस्