December 5, 2024, Thursday
२०८१ मंसिर २०

सम्भावित विपतबारे तयारी गर्न मुख्यमन्त्रीको निर्देशन

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विपतलाई सामाना गर्ने गरी तयारी गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । बिहीबार आयोजित प्रदेश स्तरीय विपत समितिको बैठकमा बोल्दै मुख्यमन्त्री केसीले विपत कसैलाई भनेर नआउने भएकाले सबै सरकारी निकाय सचेत भई कार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आआफ्नो जिल्लाको विपतको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । उनीहरुले जिल्लामा बाढि, पहिरो, वर्षाका कारणले हुने र भएका क्षतिलाई न्यूनिकरण गर्न लागिरहेको बताएका थिए । उनीहरुले जिल्लाको शान्ति, सुरक्षा र विपतको अवस्थाका बारेमा पनि रिपोर्टिङ गरेका थिए ।

Advertisement

मुख्यमन्त्रीले प्रदेशका आम नागरिकलाई सुरक्षित हुने गरी नै काम गरी जनताको जीवन रक्षाका लागि अगाडि बढ्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे । बैठकले मोतिपुर घटनाका मृतकलाई राहत उपलब्ध गराएकाबारे, लक्ष्मी नगर र ज्योति नगरका क्षेत्रलाई व्यवस्थापनका लागि स्रोतसाधन उपलब्ध गराउन बनेको कार्यविधि अनुमोदन गरेको छ ।

यस्तै, रोल्पा र गुल्मी क्षेत्रका पहिरो पीडितहलाई प्रदेश सरकारले उपलब्ध गराउन पर्ने ३० प्रतिशत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । यस्तै विपतले सडक, पुल, पुलेसा, कृषि, उद्योग क्षेत्रमा भएका क्षतिका विषयमा राहत कार्यक्रम सम्बन्धित योजनाहरु मन्त्रालयले अगाडि बढाउने, विपतमा उद्धारका लागि नीजि क्षेत्रसँग समन्वय गरी हेलीको व्यवस्था गर्ने लगायतको निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्रीले तिलकराम शर्माले बताए ।