December 12, 2024, Thursday
२०८१ मंसिर २७

भैरहवाको ट्राफिक व्यवस्थापन व्यवस्थित गर्न सुझाव

भैरहवा– यस क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्श)ले ध्यानाकर्षण गराएको छ । संगठनले जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे सुझावसमेत दिएको छ ।

संगठनका अध्यक्ष अनिलकुमार ज्ञवालीले मंगलबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख केशव केसीलाई ध्यानाकर्षण पत्र बुझाएको बताए । संगठनले नगरमा जडित ट्राफिक लाइट पनि व्यवस्थित तरिकाले सञ्चालन नभएको र एकदिनमै तीनचार पटक काम नगरेको पाइएकाले त्यसलाई व्यवस्थित तरिकाले सञ्चालन गराउनुपर्ने, यस क्षेत्रको ट्राफिक जाम कम गरी दुर्घटना न्यूनीकरण गर्नका लागि देवकोटाचोकदेखि बुद्धचोकसम्म सडकको बीच भागमा कही पनि राजमार्ग क्रसिङ नभएकाले कम्तीमा भाटभटेनी अगाडिको राजमार्गबीचको भागमा बाटो खोलि सहज गराइदिन आग्रह गरेको छ ।

Advertisement

त्यस्तै लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल चोकमा पनि धेरै दुर्घटना हुने भएकाले एउटा ट्राफिक बीट राखी कम्तीमा दुईजना ट्राफिक प्रहरी खटाइ आवातजावतलाई सहज बनाउँदै सडक दुर्घटना न्यूनीकरण गराउनुपर्ने, हाल देखिएका ट्राफिक लाइट सम्बन्धी ज्ञान नभएर, आकाशे पुल प्रयोग नगरेर, जेब्राक्रस प्रयोग नगरेर दुर्घटना हुने भएकाले सबै कुरालाई समेटेर ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत माइकिङ र पर्चा पम्पलेट वितरण कार्य गर्नुपर्ने संगठनको माग छ ।

संगठनले हाल केही समय यता बजारका केही स्थानमा नो पार्किङ बोर्ड राखिएकाले व्यवसायीहरु आतंकित भएकाले उनीहरुलाई वैकल्पिक व्यवस्था नगरिकन नो पार्किङ बोर्ड लगाइ जरिवाना उठाउनु के कति जायज हो, पसल अगाडि आउने ग्राहकका लागि स्वयं आफ्नो सवारीसाधन राख्ने वैकल्पिक व्यवस्था नदिएकाले उक्त बोर्ड हटाउन ध्यानाकर्षण गराएको छ । सरसल्लाह गरेर वैकल्पिक व्यवस्था तयार भएपछि मात्र लगाउन परे त्यसका लागि सहयोग गर्न तयार रहेको अध्यक्ष ज्ञवालीले बताए ।

विगत धेरै वर्षदेखि भैरहवा बजार (नारायण पथ, मैत्रीपथ, बैंकरोड, गल्लामण्डी लगायत) क्षेत्रमा एक साइड पार्किङ भएकाले समय अनुकुल साईड परिवर्तन गर्न आवश्यक रहेको संगठनको माग छ । यस क्षेत्रमा उद्योग व्यापार संगठन, रुपन्देही निजी क्षेत्रको साथै सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आइरहेको संस्था भएकाले सबै क्षेत्रसँग सहकार्य गरेर कार्य गर्न तयार भएको संगठनका महासचिव सचिन रोक्काले बताए ।